close

सिरिजंगा बन्यो ताप्लेजुङको संक्रमणमुक्त पालिका

सिरिजंगा बन्यो ताप्लेजुङको संक्रमणमुक्त पालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिका कोरोना संक्रमणमुक्त पालिका बनेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणअनुसार ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकामा कोरोना संक्रमणमुक्त भएको देखिएको छ ।

 

सबैभन्दा बढी संक्रमित फुङ्लिङ नगरपालिकामा छन् । शुक्रबार अपराह्नसम्मको विवरणअनुसार ताप्लेजुङमा ३ सय ५४ जना सक्रिय संक्रमित छन् ।


यीमध्ये ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गरिएका १ सय ८, नगर क्षेत्रमा ४६ र फुङ्लिङस्थित मित्लुङमा केन्द्र रहेको सानिमा हाइड्रोपावरमा ३ गरी फुङ्लिङमा १ सय ५७ जना सक्रिय संक्रमित छन् ।

 

फुङ्लिङपछि सबैभन्दा धेरै सक्रिय संक्रमित सिदिङ्वा गाउँपालिकामा छन् । त्यहाँ ७२ जना सक्रिय संक्रमित रहेको विवरण जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।


यस्तै, आठराई त्रिवेणीमा ५२, मैवाखोलामा १२ र मेरिङ्देन गाउँपालिकामा ११ जना सक्रिय संक्रमित छन् ।  मिक्वाखोला गाउँपालिकामा ६ जना, फक्ताङ्लुङमा ७ र पाथीभरा याङ्वरक गाउँपालिकामा ३७ जना सक्रिय संक्रमित छन् ।


स्वास्थ्य कार्यालयले फुङ्लिङ नगर क्षेत्रमा संक्रमितको संख्या अप्रत्यासित बढ्दै गएको जनाएको छ । 

 

थप एकको मृत्यु

कोरोना संक्रमणका कारण ताप्लेजुङमा थप १ जनाको मृत्यु भएको छ । योसहित ताप्लेजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।


शुक्रबार मेरिङ्देन गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको उपचारका क्रममा ताप्लेजुङ बाहिर मृत्यु भएको आफन्तजनले बताएका छन् ।


जिल्लाभित्रै मृत्यु भएकाको विवरण मात्र राख्ने गरिएकोले जिल्ला प्रशासन कार्यालयले ताप्लेजुङमै मृत्यु हुनेको संख्या १४ मात्र रहेको बताएको छ ।