close

जुम्लाको एक अर्ब बढी बजेट फ्रिज

जुम्लाको एक अर्ब बढी बजेट फ्रिज

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर फ्रिज जाने गरेको छ । गएको वर्षमा पनि जुम्लाबाट १ अर्ब रुपैयाँ बढी बजेट खर्च हुन सकेर फिर्ता भएको थियो ।

 

आर्थिक बर्ष २०७७/७८ मा  जुम्लाका १ नगरपालिकासहित ७ वटा गाउँपालिकामा खर्च हुन नसकेर १ अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फ्रिज गएको हो ।
 

 

कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पुँजीगततर्फ विनियोजित कुल २ अर्ब ३१ करोड ३२ लाख ६० हजारमध्ये असार मसान्तसम्म १ अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ । 

 

त्यस्तै, पुँजीगततर्फको कुल विनियोजित बजेटमध्ये ८३ करोड ५९ लाख ३० हजार रुपैयाँ अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन सकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रणक लक्ष्मीदत्त चौलागाईंले बताए ।

 

उनले भने, ‘विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो । तर, महामारीका बीच पनि बजेट खर्च राम्रै हो । विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुखद पक्ष हो ।’

 

कोष तथा खोला नियन्त्रकको तथ्यांकअनुसार असारमा मात्रै ६६ करोड ८६ लाख ५२ हजार ६ सय रुपैयाँ पुजीगततर्फ खर्च भएको छ । असारमै बजेट खर्चको दर हेर्दा असारे विकासको लहर अन्त्य नभएको देखिन्छ ।

 

त्यस्तै, चालूतर्फ विनियोजित ५ अर्ब ३० करोड ८ लाख ४५ हजारमध्ये असारसम्म ४ अर्ब ७३ करोड ८४ लाख ९ हजार रुपैयाँ अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ । 

 

चालूतर्फकै पनि २९ करोड ९९ लाख ९५ हजार अर्थात् विनियोजित बजेटको ६ प्र्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको कोष नियन्त्रक चौलागार्इंले जानकारी दिए । 

 

उनका अनुसार चालूतर्फको ६५ करोड ६१ लाख ४ हजार रुपैयाँ असारमा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको बजेट कति खर्च हुन सकेन भन्ने विवरण कोलेनिकामा नभएको उनको भनाइ छ ।