close

वालिङमा सुरु भो हरित पुनःउत्थान प्रवर्द्धन परियोजना

वालिङमा सुरु भो हरित पुनःउत्थान प्रवर्द्धन परियोजना

Trulli
ADVERTISEMENT

स्याङ्जा- सफा तथा स्वच्छ सहरका लागि वालिङ नगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन परियोजना शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत हरित पुनःउत्थान प्रवर्द्धन परियोजना सुरु भएको हो ।


परियोजनाले विशेषगरी कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएकालाई ‘पोस्ट कोभिड’ कार्यक्रमअन्तर्गत सहजीकरण गर्ने, उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्रमार्फत नवउद्यमी एवं परियोजनाका लाभग्राहीलाई दिगो रूपमा उद्यमशीलताका क्षेत्रमा टिकाइराख्न दीर्घकालीन योजना निर्माण गर्ने उद्देश्य रहेको सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।


व्यावसायिक योजना निर्माण गर्ने, मेन्टर, रोस्टर सहजीकरण, संस्थागत व्यवस्थापनमा समन्वय र सहयोग, आर्थिक बचत तथा लगानी संरक्षण गरी आर्थिक वृद्धि गर्ने कार्यमा परियोजनाले सहजीकरण गर्ने अध्यक्ष गुरुङले बताए ।


फोहोरमैला व्यवस्थापन केन्द्रमा प्लास्टिक पुनः प्रयोग गर्ने, प्लास्टिकका दाना बनाउने मेसिनद्वारा काम थाल्ने, बायोग्यास प्लान्ट बनाउने, प्रांगारिक बिन एक हजारलाई वितरण गर्ने, ग्रिनपार्क निर्माण गर्ने, सडकका छेउछाउ तथा बीच भागमा वृक्षारोपण गर्ने परियोजनाको उद्देश्य छ ।

 

उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, हाटबजार सञ्चालन गर्ने, बिउबिजन वितरण गर्ने, अर्गानिक खेती र यसको उत्पादन तथा बजारीकरणको काम गर्ने, वडा-वडामा कलेक्सन सेन्टर सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाई आर्थिक उपार्जनका कार्य गर्नमा सहयोग गर्ने, माग र आवश्यकताका आधारमा तालिम, प्रशिक्षण तथा अनुगमन गरिने अध्यक्ष गुरुङले बताए ।


झन्डै १० महिना सञ्चालन हुने परियोजनाले फोहोरमैला आर्थिक उपार्जनको स्रोत रहेकाले नागरिकलाई यसबारे सचेत बनाएर उचित व्यवस्थापनमा जोड दिइने नगरप्रमुख दिलीपप्रताप खाँणको भनाइ छ ।


‘परियोजनामार्फत १ हजार २ सय ५० जनालाई प्रत्यक्ष रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य छ’, नगरप्रमुख खाँणले भने, ‘यसका लागि कोभिड-१९ बाट प्रभावित भई रोजगारी गुमाएका व्यक्ति तथा तिनका परिवार, जोखिममा रहेका समूह र विशेषगरी महिलालाई प्राथमिकतामा राखिएको छ ।’ 


२६० जनालाई गड्यौला मल बनाउने तालिम, २६० जनालाई गड्यौला मल बनाउने बिन वितरण र २६० जनालाई अर्गानिक फार्ममा तालिम दिने लक्ष्य परियोजनाको छ । परियोजनाले व्यवस्थित फोहोर संकलन तथा फोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने दियालो संस्थाका अध्यक्ष तिवारीले बताए । 


परियोजनाका लागि वालिङ नगरपालिकाको ३ करोड १५ लाख ५६ हजार ६५ र युनडिपीको १ करोड ६३ लाख ७४ हजार गरी ४ करोड ९२ लाख १३ हजार १०७ रुपैयाँ लागत रहेको छ ।