close

ताप्लेजुङमा साढे ५४ करोड फ्रिज

ताप्लेजुङमा साढे ५४ करोड फ्रिज

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङबाट आर्थिक वर्ष २०७७/७८ मा साढे ५४ करोड रुपैयाँ बढी रकम खर्च हुन नसकी सरकारको केन्द्रीय खातामा फिर्ता गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल दुर्गाप्रसाद थापाका अनुसार ५४ करोड ४९ लाख ७८ हजार ४ सय ८३ रुपैयाँ फ्रिज भएको हो ।


उनका अनुसार सबैभन्दा धेरै पुँजीगततर्फ फ्रिज भएको छ । पुँजीगततर्फ ३१ करोड ८८ लाख ५ हजार ४ सय ६० रुपैयाँ फ्रिज भएको छ । योमध्ये संघतर्फ १७ करोड १५ लाख ९१ हजार ४२ तथा प्रदेशतर्फ १४ करोड ७२ लाख १४ हजार ४ सय १७ रुपैयाँ फ्रिज भएको हो ।


पुँजीगततर्फ प्रदेशको बजेटको आधाभन्दा कम (४८.६५ प्रतिशत) मात्र खर्च भएको छ । २८ करोड ६६ लाख ६१ हजार बजेट रहेकामा १३ करोड ९४ लाख ४६ हजार ५ सय ८२ रुपैयाँ मात्र खर्च भएको कोलेनिकाले जनाएको छ । संघतर्फ भने पुँजीगत बजेट करिब ७६ प्रतिशत खर्च भएको छ । संघको पुँजीगततर्फ ६८ करोड ८८ लाख ७० हजार कुल बजेट रहेकोमा ५१ करोड ७२ लाख ७८ हजार ९ सय ५८ रुपैयाँ मात्र खर्च भएको छ ।


यस्तै, चालूतर्फ संघ र प्रदेश गरी कुल २२ करोड ६१ लाख ७३ हजार २४ रुपैयाँ बजेट फ्रिज भएको छ । चालूतर्फ संघीय बजेट १४ करोड ९१ लाख २३ हजार ८ सय ५४ र प्रदेशको बजेट ७ करोड ७० लाख ४९ हजार १ सय ७० रुपैयाँ बजेट फ्रिज भएको छ । 


चालूमा संघतर्फ ९६.३१ प्रतिशत र प्रदेशतर्फ ७८.१२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । संघीय बजेटको चालूतर्फ ४ अर्ब ८ करोड ९४ लाख ७ हजार ८० बजेट रहेकामा ३ अर्ब ८९ करोड १८ लाख २३ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ । यस्तै, प्रदेशतर्फ ३५ करोड २१ लाख ५७ हजार बजेट रहेकामा २७ करोड ५१ लाख ७ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ ।