close

अस्पताल नै कोरोना संक्रमणको हट स्पट बन्ने त्रास 

अस्पताल नै कोरोना संक्रमणको हट स्पट बन्ने त्रास 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– बिरामीको चाप बढेर व्यवस्थापन गर्न समस्या भएका कारण ताप्लेजुङ अस्पताल नै कोभिड संक्रमणको हट स्पट हुने खतरा बढेपछि बिरामी व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुझाइएको छ ।

 

कोरोना संक्रमण र अन्य रोगका बिरामीको चाप ह्वात्तै बढेपछि व्यवस्थापनका विषयमा छलफल गर्न मंगलबार जिल्ला अस्पताल विकास समितिले आयोजना गरेको सरोकारवालाको छलफल अल्पकालीन र दीर्घकालीन समाधानको बाटो अख्तियार गर्नुपर्ने निचोडमा पुगेको हो ।

 

साँघुरो क्षेत्र, शय्या तथा आइसोलेसन अभाव खेपिरहेको ताप्लेजुङ अस्पतालले आफ्नै परिसर छेउछाउ १५ शय्यासम्मको आइसोलेसन कक्ष बनाउनुपर्ने प्रस्ताव राखेको छ ।

 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले क्षमताभन्दा दोब्बर हाराहारी संख्यामा कोरोनाका बिरामी र यही समय मौसमी रोगको संक्रमणबाट प्रभावित बिरामीको चापले अस्पताल भरिभराउ भएको जानकारी दिए ।

 

अस्पतालमा रहेको १० शय्याको कोभिड अस्पतालमा अहिले करिब दोब्बर संख्याका बिरामी भर्ना हुन आएपछि आफूहरूले अस्पतालको अन्य बिरामी कक्षसमेतको प्रयोग गर्दै आएको उनले बताए ।

 

कोरोनाबाहेक अन्य बिरामीको उपचारका लागि प्रयोग हुने कक्षसमेतमा कोरोना संक्रमित बिरामी राखेर उपचार गरिरहनु परेको बताउँदै डा. लामाले भने, ‘भौतिक दूरी कायम गरे पनि कोरोना संक्रमित र अन्य बिरामीलाइ एउटै कक्षमा राखेर उपचार गरिरहनु पर्दा कोरोना संक्रमणको स्रोत नै अस्पताल बन्ने जोखिम पनि
रहन्छ ।’ 

 

यही जोखिम हटाउने उपायस्वरूप अस्पताल आसपास अस्थायी आइसोलेसन कक्ष बनाउने पहल सुरु भएको छ ।

 

जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले अस्पताल परिसरमै रहेको औषधी भण्डारण कक्षलाई अस्थायी आइसोलेसन कक्षको रूपमा उपयोग गर्न सकिने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन भएको जानकारी दिए ।

 

१५ शय्याको जिल्ला अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष प्रयोगमा छ । गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको आइसोलेसनमा राख्ने र संक्रमित भई अस्पतालको आइसोलेसनमा ९ देखि १० दिन रहेका कम जोखिम अवस्थाकालाई अस्थायी आइसोलेसनमा राखेर व्यवस्थापन गर्ने प्रयोजनका लागि अस्पताल परिसरमै अस्थायी आइसोलेसन कक्ष स्थापनाको पहल थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

 

फुङ्लिङ नगरपालिकाले यसअघि निर्माण गरेको आइसोलेन कक्ष (बाल सुधारगृह रहेको पुरानो भवन) चिकित्सकीय पहुँचभन्दा टाढा भएकाले तत्कालका लागि अस्पताल आसपास नै आइसोलेसन कक्ष निर्माण गर्नुपर्ने निष्कर्ष रहेको अस्पतालका निमित्त मेसु डा. लामाले बताए ।

 

अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छोराको रेखदेखमा खटिएका फुङ्लिङ नगरपालिका वडा नम्बर ७ दोखुका कमलप्रसाद भट्टराईले अस्पातलमा कोरोनाका बिरामी थपिने क्रम बढेकाले १०–१५ शय्याको अस्थायी आइसोलेसन कक्षले बिरामीको चाप थेग्न सक्ने अवस्था नरहेको बताए ।

 

‘राम्रो व्यवस्थापन गर्ने गरी सोच राखिएन भने कोरोना संक्रमितको भार अस्पतालले थेग्न सक्दैन,’ भट्टराईले भने । पछिल्ला दिनमा ताप्लेजुङको फुङ्लिङ नगर क्षेत्रमा कोरोना संक्रमित थपिँदै गएका छन् ।

 

छलफलमा प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ, फुङलिङ नगर उपप्रमुख बमबहादुर भट्टराई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायत सहभागी थिए 

 

‘अत्यावश्यक कामबाहेक अस्पताल नआइदिनू ’
 

 

ताप्लेजुङ अस्पतालले अत्यावश्यक कामबाहेक हिँड्डुल गर्न र अस्पतालको वातावरणबारे सोधीखोजीका लागि नआइदिन आग्रह गरेको छ । 

 

निमित्त मेसु डा. लामाले बिरामीको हेरचाहमा खटिएका बाहेक अत्यावश्यक कुनै काम बेगर अस्पताल आउजाउ गर्ने भीडभाडले संक्रमणको जोखिम थप बढ्नेतर्फ सचेत भइदिन आग्रह गरे । कोरोना संक्रमणको उपचार कक्ष आसपास झनै जानै नहुने उनको तर्क छ ।

 

जोखिम थप बढ्न नदिन सबैले सावधानीका उपाय मनन गर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नेतर्फ उनले सबैको ध्यानाकर्षण गराए ।