close

स्वामीकार्तिकको मकैबाली फौजी किराको कब्जामा 

स्वामीकार्तिकको मकैबाली फौजी किराको कब्जामा 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नम्बर ४ वाईमा अमेरिकी फौजी किराले मकैबालीमा क्षति पु¥याउन थालेपछि किसान चिन्तित बनेका छन् । हुर्कंदै गरेका मकैका बोटमा फौजी किराको आतंक देखिएको हो । फौजी किराले मकैको गाभा खाएर सखाप पारेको स्थानीय मैना जोशीले बताइन् ।


वाई गाउँका २ सय बढी परिवारले लगाएको मकै बारीमा फौजी किराको आतंक देखिएको उनको भनाइ छ । किराले हुर्कंदै गरेको मकैको गाभा खाइसकेको छ । गत वर्ष पनि मकैको बोट खाएपछि मकै बाली उत्पादनमा कमी आएको र यो वर्ष पनि त्यही समस्या दोहोरिएपछि उत्पादनमा कमी आउने देखिएको छ ।


यो वर्ष लगातार पानी परिरहेकाले मकै बाली राम्रै हुने आशा गरिरहेका किसानको बारीमा किरा लागेपछि चिन्तित छन् । वाईबासीले सिँचाइ सुविधा नपुगेका सयौँ हेक्टरमा लगाएको मकै बालीमा किराको प्रकोप देखिएको हो । हालसम्म धान रोपाइँ पनि सुरु नभएको वाईमा साउन मध्यबाट रोप्न सुरु गरिन्छ । 


‘पानी परेको समय मकै राम्रै फल्थ्यो । यो वर्ष किरा लागेर सखाप पारिरहेको छ’, स्थानीय अनिरुद्ध कठायतले भने, ‘फौजी किराबाट मकै जोगाउन सकस भएको छ ।’ सिँचाइ अभावका कारण धानको विकल्पमा मकै खेती गर्दै आएका वाईका स्थानीयले मकै पनि जोगाउन नसक्दा खाद्य संकट निम्तिन सक्ने बताए ।

 

सुदूरपश्चिमका पहाडी जिल्लामा करिब ३ वर्षदेखि देखा पर्न थालेको फौजी किराले बाजुरामा मात्र बर्सेनि २० प्रतिशत मकैमा क्षति पुर्‍याउँदा लाखौँको नोक्सानी हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जोशीले किसानलाई विषादी उपलब्ध गराउने तयारी भइरहेको बताए । पालिकाबाट विषादीको माग आएको जानकारी दिँदै उनले केन्द्रमा उपलब्ध विषादी अबको केही दिनभित्र किसानसमक्ष पुर्‍याइने बताए ।