close

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न ४१ सांसदको हस्ताक्षर 

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न ४१ सांसदको हस्ताक्षर 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन प्रक्रिया सुरु हुने भएको छ । ४१ सांसदले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष हस्ताक्षरसहित निवेदन दिएका हुन् ।


सोमबार कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुखसमक्ष संयुक्त निवेदन दिएका हुन् । प्रदेशसभामा हाल कायम ८० सांसदमध्ये कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।


प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीले निवेदनमा हस्ताक्षर गरेका छन् ।


मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको अवस्थामा त्यसमाथि छलफल गर्न तत्कालीन प्रदेश प्रमुखले गत १९ वैशाखमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको स्मरण गराउँदै उनीहरूले सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको उल्लेख गरेका छन् ।


निवेदनमा भनिएको छ, ‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सोअनुसार नगरी प्रदेशसभामा तत्कालीन समय जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट संविधानविपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभूत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्पराविपरीत संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराइयो ।’