close

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै कोरोना खोप 

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै कोरोना खोप 

Trulli
ADVERTISEMENT

काभ्रे– नमोबुद्ध नगरपालिकाले खोप केन्द्रसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागि घरघरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।

 

कोभिड १९ (कोरोना) विरुद्धको कोभिडसिल्डको दोस्रो मात्रा खोप लगाउने  अभियानको क्रममा खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकका लागि स्वास्थ्यकर्मीको टोली घरघरमै पुगेर खोप लगाइएको हो । 

 

नगर प्रमुख टिपी शर्मा तिमल्सिना स्वास्थ्यकर्मी लिएर आफैं जेष्ठ नागरिकको घरघरमा पुगेका छन् । खोप केन्द्रसम्म पुग्न नसक्ने ८५ बर्षदेखि १०२ बर्षसम्मका नागरिकलाई घरमै पुगेर खोप लगाउने व्यवस्था गरिएको नगर प्रमुख तिमल्सिनाले बताए ।

 

नमोबुद्ध ८ का १ सय २ बर्षका अमन्तीनाथ हुमागाईंले पनि दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्यकर्मीले खोप लगाइदिएपछि हुमागाईंसहितका नागरिकहरुलाई नगर प्रमुख तिमल्सिनाले खोप कार्ड हस्तान्तरण गरे ।


नमोबुद्ध नगरपालिकामा गत २३ फागुनदेखि २९ गतेसम्म सञ्चालन भएको खोप अभियानको क्रममा पहिलो मात्रा खोप लगाउने ६५ बर्षमाथिका व्यक्ति १ हजार ७ सय ७ छन् । खोप अभियानको क्रममा नगरका ११ वटै वडामा केन्द्र तोकिएको छ । ‘खोप केन्द्रसम्म जान नसक्नेहरुका लागि स्वास्थ्यकर्मी नै घरघरमा पुगेर खोप लगाउने व्यवस्था गरिएको छ’ नगर प्रमुख तिमल्सिनाले भने, ‘कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित काम गरिरहेका छौं ।’ 

 

खोप अभियान लिएर नगरबासीको घरघरमा पुगेका नगर प्रमुख तिमल्सिनाले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुलाई मास्क, सेनिटाइजर, च्यावनप्रास लगायतका सामग्रीसमेत वितरण गरेका छन् ।


आइसोलेसनमा बिरामीको चाप बढ्यो


पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेसँगै नमोबुद्ध नगरपालिका वडा नं. ४ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा चाप बढेको छ । 

 

पछिल्लो एक सातामा आइसोलेसन केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको हो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालित आइसोलेसन केन्द्रमा हाल १४ जना कोभिड १९ का बिरामी रहेको केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिइन् ।

 

 १४ जनामध्ये नमोबुद्ध नगरपालिकाका १० जना र रोशी गाउँपालिकाका ४ जना छन् । केन्द्रमा रहेकामध्ये ५ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ भने अन्यमा ज्वरोसहितको लक्षण देखिएको छ । नमोबुद्ध नगरपालिकामा आइतबारसम्मको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ७६ छ ।  उक्त आइसोलेसन केन्द्रमा हालसम्म १ सय ४१ जना कोभिड १९ का बिरामी भर्ना भइसकेका छन् ।