close

डायलसिस सेवा सुरु गर्दै इलाम नगरपालिका (भिडियो खबर)

डायलसिस सेवा सुरु गर्दै इलाम नगरपालिका (भिडियो खबर)

ADVERTISEMENT

इलाम- पूर्वको पहाडी जिल्ला इलाम जति सुन्दर छ, त्यति नै नगरपालिकाले अघि सारेका योजना पनि । अझ, पछिल्लो समय स्वास्थ्य क्षेत्रमा नगरपालिकाले खेलेको भूमिका निकै सराहनीय छ । देख्दा सुन्दर भएपनि इलामका केही नगरपालिकामा स्वास्थ्यको पहुँच सोचे अनुरुपको थिएन ।

 

धेरैलाई तराईका जिल्ला पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता थियो । डायलसिस गर्न पनि तराई नै झर्नु पर्दथ्यो भने महंगो पनि उत्तिकै हुने गरेको भएपनि सास्तीका बीच सेवा लिन स्थानीय बाध्य थिए । तर, नगरपालिकाले गत फागुनमा रोटरी क्लब धरानसँग सहकार्य गरेर नगरपालिकामा नै डायलसिस सुरु गर्न लागेकाे हाे ।

 

नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो । अहिले नगरपालिकाले तीनवटै मेसिन जडान गरिसकेको छ । सेवा सुरू गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएको छ भने इलाम अस्पतालमा सेवा सुरू हुने जनाइएको छ । 

 

मेसिन जडान भएपनि अझै सेवा सञ्चालन गर्न भने सकिएको छैन । मेसिन सञ्चालनका लागि प्राविधिक टोलीलाई विपीबाट प्रशिक्षण दिएको भएपनि दोस्रो लहरको कोरोनाका कारण सेवा अघि बढ्न सकेन । कोभिड वार्डलाई फरक बनाएर भएपनि डायलसिस मेसिन सञ्चालन गर्ने योजना बनाइएको अस्पतालले जनाएको छ । 

 

मेसिन सञ्चालनमा आएपछि एक पटकमा दुई जनालाई सेवा दिन सकिने छ । सात वटा मेसिन थप गरेर १० वटा बनाइने लक्ष्य पालिकाले बनाएको छ । डायलसिस निःशुल्क नभई अन्यको तुलनामा सुलभ मूल्यमा नै सुरु गरिने  नगरपालिकाले जनाएको छ । 

 

यस्तै, नगरपालिकाले इलामको स्वास्थ्य सेवालाई व्यवस्थित रूपमा सञ्चालन गर्न विशेषज्ञ चिकत्सकलाई १५ हजार र अन्यलाई ५ हजार मासिक प्रोत्साहन भत्ता समेत दिइरहेको छ । नगरपालिकाले अस्पतालमा नयाँ सेवा थप गर्दा नागरिकलाई सहज हुने नै छ । अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइरहेको भएपनि मेसिनको समयसमयमा सफाई, निरीक्षण भने गरिरहनुपर्छ । केही समय सञ्चालन गरेर फेरि बिग्रिने समस्या नआउन पालिकाले ध्यान दिनुपर्नेछ ।