close

कैलाश मानसरोवर दर्शन गर्न भारतका सदगुरु आज हुम्ला आउँदै

कैलाश मानसरोवर दर्शन गर्न भारतका सदगुरु आज हुम्ला आउँदै

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाका होटल दुई वर्षपछि खुल्न थालेसँगै मानसरोवर जाने पर्यटक पनि आउन थालेका छन् । पर्यटकको पहिलो डफ्फा आएसँगै होटल सञ्चालकको मुहार पनि उज्यालिन थालेको छ । लामो समयपछि अहिले नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतका चर्चित धर्मगुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटल व्यवसायी निकै रमाएका छन् । 


पर्यटन व्यवसायी याङ्की लामाका अनुसार कोरोनाले हिल्सा नाका बन्द हुँदा पहिलो पटक भारतबाट सदगुरुसहित ५० जना धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेको छ । यसबाट होटल व्यवसायीमा आशा पलाएको उनले बताइन् । 

सदगुरु आज हुम्ला आइपुग्ने

सदगुरु ५ हजार मिटर अग्लो लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न मंगलबार हुम्ला आइपुग्दै छन् । उनी काठमाडौंबाट हेलिकप्टर चढेर सीधै हुम्ला आउन लागेका हुन् । ‘गुरु एक रात सिमकोटमा बस्ने र बुधबार बिहान मात्र पैदलै लाप्चातर्फ लाग्नु हुनेछ,’ पर्यटन व्यवसायी विजय लामाले भने, ‘सदगुरुसँग १२ जना भारतीयलगायत १० देशका दर्शनार्थी रहने छन् ।’ सदगुरुको टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडासम्म तयार राखिएको छ ।

 

उनले नेपाली भूभाग लाप्चाबाट पैदलै मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने छन् । यसबाट विश्व पर्यटन जगतमा नै सकारात्मक सन्देश जाने विश्वास यहाँका पर्यटन तथा होटल व्यवसायीले लिएका छन् । सदगुरु भारतका चर्चित धर्मगुरुमध्ये एक हुन् ।

कुक र गाइडसहित ५५ जना आइपुगे हुम्ला

सदगुरु सहितको टोली हुम्लाबाट पैदलै नेपाली भूमि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि काठमाडौंबाट गाइड, कुक र भरियासहित ५५ जनाको टोली हुम्ला आइपुगेको छ ।ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार टोलीमा रहेका कुक, गाइडसहित आवश्यक सामाग्री सबै हुम्ला आइपुगेको छ । टोली हुम्ला आएपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बेचबिखन बढेको छ । 


हुम्ला पुगेको टोली कोरोनाका कारण होटलमा नबसेर सिमकोटस्थित खेल मैदान र सिमसार क्षेत्रमा शिविर बनाएर बसेको जानकारी अधिकारीले दिए । पालमा सदगुरुसहित उनको टोली एक रात बस्नेछ । उनीहरूको भारी बोक्न २५ जना भरिया तम्तयार छन् । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उनीहरूले भारी बोकेर सदगुरुको टोलीसँगै लाप्चासम्म पुग्ने छन् । 

होटल व्यवसायी उत्साहित

करोडभन्दा बढी लगानी गरेका होटल बन्द भएर घाटा चुलिँदै गएका बेला कैलाश दर्शन गर्न पर्यटक आउन थालेपछि होटल सञ्चालक खुशी भएका छन् ।असोज महिनासम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश दर्शन गर्न सकिने भएकाले पनि भारतबाट धार्मिक पर्यटकले अत्यधिक सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताए । ‘अब कोरोना संक्रमण घटे पर्यटकको संख्या ह्वात्तै बढ्ने र यसबाट शिथिल भएको होटल व्यवसाय पुरानै लयमा फर्कनेमा हामी ढुक्क छौं,’ उनले भने । सदगुरुको आगमनले दुई सिजन ताल्चा लगाएका होटलमा फेरि चहलपहल बढ्ने र व्यापार हुने बाटो खोलेको र होटल सञ्चालक उत्साहित भएको याङ्कीले बताइन् । 


दुई वर्षअघि सिमकोटमा पर्यटक लक्षित गरी १३ होटल सुरु भएका थिए । ती होटललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटल संघका अध्यक्ष मिम लामाले भने, ‘कोरोनाकालमा सुनसान भएका यी होटल अब फेरि पर्यटकको आगमन सुरु भएसँगै व्यस्त हुने आस पलायो ।’