close

ढकमक्क फूल फुलाउँदै कालीगण्डकी गाउँपालिका 

ढकमक्क फूल फुलाउँदै कालीगण्डकी गाउँपालिका 

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरु गरेको छ ।

 

गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि दुई ठाउँमा फूल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।  वडा– ४ को पुछारमा १४ रोपनी र वडा–  ७ को बारिचौरमा ६ रोपनी जग्गा भाडामा लिई पहिलो चरणमा सयपत्री र मखमली फूलका बिरुवा लगाएको अध्यक्ष थापाले बताए ।



चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा आफ्नै गाउँ ठाउँमा यसको व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रुपमा विकास गर्न सकिने भएकाले गाउँपालिकाले नमूनाको रुपमा खेती थालेको उनको भनाइ छ ।

 

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले सुरु गरे पनि आगामी वर्षबाट बारिचौरस्थित लालीगुराँस घरवासको आर्थिक स्रोतको रुपमा फूल खेती हस्तान्तरण गरिनेछ । घरवासमा आउने आन्तरिक तथा बाह्य पाहुनालाई स्वागतका लागि प्रयोग गरिने फूल त्यहीँ उत्पादन हुने भएपछि स्थानीयलाई आम्दानी र रोजगारी दुवै मिल्ने गाउँपालिकाले जनाएको छ ।

 

पालिकाले लालीगुराँस घरवासलाई ‘फूलै फूलको होमस्टे’ को रुपमा विकास गर्ने योजनासहित अगाडि बढेको अध्यक्ष थापाले बताए । गाउँपलिकाले विशेष गरी फूल खेतीको व्यवसायिकतामा जोड दिँदै आर्थिक आम्दानीको दरिलो स्रोतको रुपमा चित्रण गरी स्थानीयलाई फूल खेतीतर्फ प्रेरित गर्न खोजेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए ।

 

‘सयपत्री र मखमली गरी दुई स्थानमा झण्डै १५ हजार बिरुवा लगाइएको छ’, कृषि अधिकृत पौडेलले भने, ‘विशेष गरी मुख्य चाड दशैँ र तिहारलाई लक्षित फूल उत्पादन हुने गरी लगाइएको छ ।’  

    
पहिलो चरणमा गाउँपालिकाले नमूनाको रुपमा स्थानीयलाई फूल खेती गर्नतर्फ प्रेरित गरे पनि आगामी वर्षबाट पालिकाले नगरेर स्थानीयलाई प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग हस्तान्तरण गर्दै जाने गाउँपालिकाको लक्ष्य छ ।