close

नदीजन्य वस्तु उत्खननको मापदण्ड संशोधन गरिँदै, संघमा उच्चस्तरीय समिति

नदीजन्य वस्तु उत्खननको मापदण्ड संशोधन गरिँदै, संघमा उच्चस्तरीय समिति

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय सरकारले ढुंगा, गिटी, उत्खनन तथा बिक्री वितरणसम्बन्धी मापदण्ड संशोधनको तयारी गरेको छ । मापदण्डमा रहेको व्यवस्था अपुग भएको भन्दै संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले एक वर्षमै मापदण्ड संशोधनका लागि फाइल अगाडि बढाएको हो ।


ढुंगा, गिटी, बालुवाका लागि छुट्टै एकीकृत कानुन बनाउन प्रक्रिया अगाडि बढे पनि तत्काल सम्भव नरहेकाले मापदण्ड संशोधन गर्न लागिएको मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख विष्णुदत्त गौतमले बताए ।


स्थानीय तहले चालू आव २०७८\८९ का लागि नदीजन्य पदार्थको टेन्डर आह्वान थालेपछि संघीय मन्त्रालयलाई मापदण्ड संशोधनको चटारो परेको हो । सरकारले पछिल्लो पटक ५ साउन २०७७ मा ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ जारी गरेको थियो । 

 

के के हुँदै छ संशोधन ?


साविकको मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खननको ठेक्का स्थानीय तहमार्फत हुन्छ, त्यसको अनुगमन जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने व्यवस्था छ । 


टेन्डर संघको मापदण्डअनुसार प्रदेश सरकारहरूले बनाएका छुट्टाछुट्टै मापदण्ड÷कार्यविधिका आधारमा हुन्छ । ढुंगा, गिटी, बालुवाबाट उठेको राजस्वको ६० प्रतिशत स्थानीय तह र बाँकी ४० प्रतिशत प्रदेश सरकारले पाउँछन् । 


तर, ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री वितरणमा तीन सरकारबीच समन्वय हुन नसकेको भन्दै संघमा समन्वय समिति कायम गर्न लागिएको हो । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा प्रस्ताव गरिएको समितिमा गृह, उद्योग र वनबाट प्रतिनिधित्व हुनेछ । ‘यो समितिले संघमा नीति निर्माणमा सघाउनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

 

हालको मापदण्डअनुसार घना बस्ती, वन, निकुञ्ज र आरक्ष, अन्तर्राष्ट्रिय सीमा, शिक्षण संस्था, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका स्थान र सुरक्षा निकायका कार्यालयबाट दुई किलोमिटर दूरीभित्र क्रसर उद्योग चलाउन पाइँदैन ।


मापदण्डअनुसार चुरे पहाडको फेदीबाट १५ सय मिटरभित्र क्रसर उद्योग चलाउन पाइँदैन । त्यसैगरी प्रसारण लाइनबाट दुई सय मिटर पर मात्रै क्रसर चलाउन पाइन्छ भने चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटरभित्र क्रसर उद्योग चलाउन पाइँदैन ।


विद्यमान मापदण्डअनुसार खोला वा नदी किनार, पक्की पुल एवं राजमार्गको ‘राइट अफ वे’ र ऐतिहासिक ताल, तलैया र जलाशयबाट ५ सय मिटर दूरीमा मात्र क्रसर उद्योग चलाउन पाइन्छ । तर, यी मापदण्डको पालना नभइरहेका बेला सरकारले बस्ती, वनसँगको दूरी घटाउन लागेको हो । दुई किलोमिटर टाढा भनिएको दूरीलाई घटाएर एक किलोमिटर बनाउने र तराई, पहाडका लागि दूरीसम्बन्धी छुट्टै मापदण्ड हुने मन्त्रालयका एक अधिकारीले बताए ।


निर्माण व्यवसायी महासंघले यो मापदण्डको पटक–पटक विरोध गर्दै आएको थियो । वन–जंगल र बस्तीसँग क्रसर उद्योगको दूरी घटाउनुपर्ने भन्दै सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।


संविधानको अनुसूची ८ले जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थ संरक्षणको जिम्मा स्थानीय तहलाई दिँदा अनुसूची ७ ले खानी अन्वेषण र व्यवस्थापनको जिम्मा भने संघ सरकारलाई दिएको छ ।


यसैगरी अनुसूची ९ ले प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने राजस्व संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा समावेश गरेको छ । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २८ वैशाखमा ढुंगा, गिटी, बालुवा उत्खननमा कानुनको पालना भए÷नभएको अनुगमन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । 


सार्वजनिक खरिद ऐन तथा नियमावली तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को प्रावधानबमोजिम ठेक्का गर्न भनिएको थियो ।

 

सरकारले २०६९ मा ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएको थियो । त्यसयता २०७०, ७५ र ७७ मा संशोधन भइसकेको छ । यो वर्ष पनि मापदण्ड संशोधन हुँदै छ ।