close

ड्रागन खेतीमा रमाउँदै कृषिका हाकिम

ड्रागन खेतीमा रमाउँदै कृषिका हाकिम

Trulli
ADVERTISEMENT

धनुषा– ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि ।

 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ बेंगाडावरमा व्यावसायिक रूपमा यो खेती गरिएको छ । ९ जना शिक्षित युवाको समुहले गरेको ड्रागन फ्रुटको व्यावसायिक खेती किसानका लागि प्रेरणा बनेको छ ।

 

९ जनाको समूहमा छन्, धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ का सञ्जयकुमार महतो । उनी धनुषाको मिथिला नगरपालिकाका कृषि विकास शाखाका शाखा प्रमुख हुन् । महतो कार्यालय पुग्नुअगाडि बिहानको समय १ देखि २ घन्टा ड्रागन फार्ममा रमाउँछन् ।

 

उनीसँगै हुन्छन्, मिथिला नगरपालिका वडा नम्बर ९ का उमेशकुमार महतो । उमेश पनि मिथिला नगरपालिकाका कृषि विकास शाखामा प्राविधिक सहायक पदमा कार्यरत छन् ।

 

दुवै जना दैनिकजसो बिहान ड्रागन फार्ममा रमाइरहेका हुन्छन् । करिब डेढ बिघामा ३८ लाख रुपैयाँ लागतमा गरिएको ड्रागन खेतीमा ९ जनाको बराबर लगानी छ । उनीहरूले प्रतिकठ्ठा १५ सयका दरले १५ वर्षका लागि जग्गा भाडामा लिएर ड्रागन खेती सुरु गरेका हुन् ।

 

९ जनाको लगानी रहे पनि सञ्जय र उमेशले यो खेतीमा बढी मिहिनेत गरिरहेका छन् । खेती रेखदेख गर्न उनीहरूले एक जना कामदारसमेत राखेका छन् ।

 

मिथिला ड्रागन फ्रुट नामबाट सुरु गरेको ड्रागन खेतीलाई उनीहरूले अहिले कम्पनी रजिस्ट्रारमा दर्ता गराएका छन् । अहिले कुश एग्रो इन्टरप्राइजेज नामले कम्पनीमा दर्ता भएको हो ।

 

२०७६ पुसमा उनीहरूले ड्रागन खेतीका लागि योजना बुनेका थिए । त्यसपछि उनीहरू ड्रागन फ्रुटको व्यावसायिक खेती अवलोकन गर्न काभ्रे पुगेको उमेश सम्झिन्छन् ।

 

काभ्रेको ड्रागन खेती अवलोकनपछि आफूहरू उत्साहित भएको उनी सुनाउँछन् । काभ्रेबाट खेती अवलोकन गरेर घर फर्केपछि उनीहरूले समूह बनाए । ९ जनाको समुह ड्रागन खेतीका लागि तयार भयो ।

 

ड्रागन फलको बिरुवाका लागि आफूहरू भारतको गुजरात पुगेको उमेशले बताए । गत वर्ष वैशाखमा गुजरातबाट ३ हजार ड्रागनका बिरुवा ल्याएर रोपेको उमेशको भनाइ छ ।

 

७ सय २८ वटा सिमेन्टको खाम्बा (पिलर) मा ३ हजार बिरुवा रोपिएको छ । रातो फलभित्र रातो फल र रातो फलभित्र सेतो फल भएको २ खाले ड्रागनका अलावा रातो फलभित्र पहेँलो फल भएका ४० वटा बिरुवा भियतनामबाट मगाइएको उमेशले जानकारी दिए ।

 

खेती गर्न लागेको लागत अबको दुई वर्षमा निस्किने उनको विश्वास छ । खेतीको सुरुआती चरणमा धेरै दुःख भोग्नु परे पनि अहिले विस्तारै फल लाग्न थालेपछि खुसी लागेको उमेश सुनाउँछन् । 

 

‘सुरुमा कसैले पत्याएनन् । यो काँडा रोपेर केही हुँदैन भनेर सबैले गिज्याउँदा दुःख लाग्थ्यो । त्यतिबेला एक किसिमको च्यालेन्ज पनि थियो,’ उमेश भन्छन्, ‘अहिले उहाँहरूलाई नै यो फल खुवाउन पाउँदा आनन्द महसुस भइरहेको छ ।’ सबैले प्रशंसा गर्छन् । अहिले खेती हेर्न आउनेको घुइँचो पनि बढेको छ ।’ 

 

कृषि शाखाका प्रमुख सञ्जय ड्रागन खेतीबाट सन्तुष्टि मिलेको बताउँछन् । लगानीकर्तासमेत रहेका सञ्जयले कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न यो खेतीमा लागेको जानकारी दिए ।

 

ड्रागन खेती सुरु गर्दा मिथिला नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बोटबोटमा पानीको मात्रा पु¥याउन थोपा सिँचाइ प्रविधि लगाइएको उनले बताए । सञ्जयका अनुसार कृषि ज्ञान केन्द्र धनुषाले ७५ प्रतिशत अनुदानमा २ सेट सेमिहाइटेक नर्सरी बिउ उत्पादनका लागि निर्माण गरिदिएको छ ।

 

यो फल झट्ट हेर्दा काँडाजस्तो देखिन्छ । सिमेन्टको खाम्बामा लगाइएको काँडाको विशेषता र उपयोगिता भने लोभलाग्दो छ । काँडाजस्तो देखिने योचाहिँ ड्रागन खेती हो ।

 

ड्रागन फ्रुटलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला जस्ता नामले पनि चिन्ने गरिन्छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ ।