close

काभ्रेको माहुरेभञ्ज्याङमा  स्वास्थ्य एकाइ भवन निर्माण 

काभ्रेको माहुरेभञ्ज्याङमा  स्वास्थ्य एकाइ भवन निर्माण 

Trulli
ADVERTISEMENT

काभ्रे– विदेशी दाताको सहयोग र तेमाल गाउँपालिकाको पहलमा वडा नं ४ माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले  १५ लाख ६६ हजार, फ्रान्सका मौरिस डुचेनले ४  लाख ५३ हजार, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते  संस्थाले ९ लाख २० हजार तथा अमेरिकामा रहेका शंकर लामाबाट १ लाख प्राप्त भएको थियो ।

 

एशोसिएजोन कल्चरले इन क्यामिनो जेनोभा इटली, जामजाम नमस्ते फ्रान्स र इन्टरनेशलन सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयज फ्रान्सले सो भवन निर्माणमा विशेष सहयोग गरेका थिए । साथै दाताका सहयोगमा शय्या, अक्सिजन कन्सनट्रेटर र फर्निचरसमेतका सामग्री उपलब्ध गराइएको सहयोग जुटाउन सक्रिय स्थानीय पर्यटन व्यवसायी राजेश लामा तामाङले जानकारी दिए ।

 

भवन निर्माणमा स्थानीय जनश्रमदानसमेत जुटाइएको छ यसअघि वडा र गाउँपालिकाले प्रारम्भमा रकम उपलब्ध गराएका थिए । भवन बनाउन नौ आना जग्गा स्थानीय विष्णुलाल श्रेष्ठले निःशुल्क उपलब्ध गराएका थिए । एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा दुर्गम तेमालको माहुरेभञ्ज्याङ क्षेत्रमा राज्यले दिने स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै खुशी भएको स्थानीयवासीले बताए । ‘गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौ’, सहयोग संयोजन गरेका राजेशले भने ।

 

सो भवनको गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ र फ्रान्सका मौरिस डुचेनले शनिबार शुभारम्भ गरेका छन् । गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने अभिप्रायले सो एकाइमा एक स्वास्थ्य सहायक, एक अनमी र एक कार्यालय सहयोगीसहितको जनशक्ति र औषधिको प्रबन्ध गरी तत्काल सेवा सुरु गरिने गाउँपालिकाका अध्यक्ष सलामसिंहले बताए । 

 

गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले बस्ती र भूगोलले टाढा भए पनि घरआँगनबाट सेवा दिनुपर्छ भनेर उक्त स्वास्थ्य एकाइ स्थापना गरिएको तर पूर्वाधार, जनशक्ति भएपछि स्थानीयवासी सेवा लिन नआए सुविधा कटौती हुनसक्छ भनिन् ।