close

राप्तीका स्वास्थ्य चौकीमा तोकिँदै न्यूनतम मापदण्ड

राप्तीका स्वास्थ्य चौकीमा तोकिँदै न्यूनतम मापदण्ड

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिका क्षेत्रका २ स्वास्थ्य चौकीको न्यूनतम सेवाबारेमा मापदण्ड निर्धारण गरिने भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकीको न्यूनतम सेवा सञ्चालन गर्न मापदण्ड निर्धारणबारे अभिमुखीकरण गरिएको हो ।


राप्ती क्षेत्रमा रहेको सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीको सेवामा थप प्रभावकारिता ल्याउन अभिमुखीकरण गरिएकोे हो । न्यूनतम सेवा मापदण्डअनुसार काम गर्न सकिए स्वास्थ्य चौकीको अवस्थामा सुधार हुने, सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकांक माथि उकास्न सकिने हुनाले न्यूनतम सेवा मापदण्ड मापन गर्न आवश्यक रहेको पालिकाले बताएको छ । 

 

स्वास्थ्य सेवाको व्यवस्थापन सुदृढीकरणमार्फत गुणस्तर सुनिश्चितताका लागि निर्धारित न्यूनतम सेवा मापदण्डसम्बन्धी जनस्वास्थ्य सेवा ऐन, २०७५ कार्यान्वयन गर्न मापदण्डबारे सरोकारवालालाई अभिमुखीकरण गरिएको हो ।


सेवाग्राही र सेवाप्रदायकबीचको सम्बन्ध, स्वास्थ्य संस्था तथा अस्पतालसम्बन्धी सुशासन, चिकित्सकीय सेवा तथा सहयोगात्मक सेवाको व्यवस्थापन प्रभावकारी रूपमा कार्यान्वयनजस्ता विषय मापदण्डमा समेटिएको छ । 


स्वास्थ्य सेवा व्यवस्थापनका लागि सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरी समयमै समाधान गर्न आवश्यक पद्धति विकास गर्ने, पहिचान भएका समस्या समाधानका लागि वित्तीय व्यवस्था, स्रोत सुनिश्चितताका लागि सहजीकरण गर्ने तयारीका योजना निर्माण गरिनेछ ।


राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, स्वास्थ्य शाखा संयोजक नारायण रावतलगायतको सहभागिता रहेको अभिमुखीकरणको स्वास्थ्य कार्यालय दाङका अर्चना अर्याल, हरिजंग रायमाझी र सीता कुँवरले सहजीकरण गरेका थिए । 


सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीका कर्मचारी तथा सेवाग्राहीबीच समन्वय गरी न्यूनतम सेवाको अवस्थाबारे अनुगमनसमेत गरिनेछ ।