close

सीमकोटमा रानीखेत प्रकोपले रित्तिँदै कुखुराका खोर

सीमकोटमा रानीखेत प्रकोपले रित्तिँदै कुखुराका खोर

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सीमकोट गाउँपालिका वडा नम्बर ७ डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगका कारण धमाधम कुखुरा मर्न थालेपछि किसानको लगानी खेर जाने अवस्था आएको छ ।


फार्ममा पालिएका कुखुरा रानीखेत रोगका कारण मर्न थालेपछि पशु अस्पतालबाट भ्याक्सिनसहितको टोली रोग नियन्त्रणका लागि गाउँ पुगेको छ । 
‘लामो समयदेखि कुखुरापालन व्यवसाय गरी आर्थिक आम्दानीको स्रोत बनाएका थियौँ । तर, थाहै नभएको रोग लागेपछि कुखुरापालन व्यवसाय चौपट भएको छ’, स्थानीय बाचबहादुर सुनारले दुःखेसो पोखे ।
 
सदरमुकाम सीमकोटसँगै जोडिएको वडा हुँदा पनि रोग नियन्त्रणका लागि कसैले वास्ता नगरेको उनले बताए । रानीखेत रोग प्रकोपका कारण कुखुराको खोर नै रित्तो हुन थालेको उनले जानकारी दिए ।


डाँडाफयाका ४ वटा गाउँमा दुई सातादेखि उक्त रोगका कारण करिब २ सय बढी कुखुरा मरिसकेका छन् । ‘तीन वर्षदेखि कुखुरापालन व्यवसायी गरेर यसबाटै खर्च जुटाउँदै आएका थियौँ । तर, रोग लागेर सबै मरे । कुखुरामा रोग लागेर सबै मरेपछि व्यवस्थित फार्म खोल्ने योजना पछि धकेलियो’ स्थानीय गौगोरी सुनारले भनिन् । घर–घरमा पालिएका कुखुरा दैनिक २० वटासम्म मर्न थालेपछि कृषकको लगानी डुबेको स्थानीय कालीबहादुर सुनारले बताए ।

 

स्थानीयका अनुसार रोग लागेका कुखुरा पहिला झोक्र्याउने, कराउने र मर्ने गरेका छन् । हुम्लामा बर्सेनि विभिन्न रोगले हजारौँ कुखुरा मर्ने गरेका छन् । स्थानीय कृषकको मुख्य आयस्रोतसमेत मानिँदै आएको व्यवसाय धरापमा पर्दा उठिबास भएको कृषक बताउँछन् ।


मौसम परिवर्तनसँगै जिल्ला बाहिरबाट ल्याइएका कुखुरामा रानीखेत र निमोनियाले सताउने गरेको पशु विकास अस्पतालका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले जानकारी दिए । थापाले भने, ‘डाँडाफयामा फैलिएको उक्त रोग नियन्त्रणका लागि औषधीसहित टोली चाँडै रोग प्रभावित क्षेत्रमा पठाउँदै छौँ ।’