close

सल्यानमा अस्पताल : हतारमा शिलान्यास, निर्माणको टुंगो छैन

सल्यानमा अस्पताल : हतारमा शिलान्यास, निर्माणको टुंगो छैन

Trulli
ADVERTISEMENT

सल्यान– सल्यानमा गत वर्षको १५ मंसिरमा शिलान्यास गरिएका अस्पताल निर्माणको काम अझै सुरु हुन सकेको छैन । जग्गा व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बिनै हतारमा अस्पताल भवनको शिलान्यास गरिए पनि अहिलेसम्म हुन नसकेको हो । जिल्लाका २ वटा नगरपालिका र ६ गाउँपालिकामा अस्पताल निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भइसकेको छ । तर, पर्याप्त जग्गा  नहुँदा  जिल्लाका ६ वटा स्थानिय तहले हतारहतारमा भवन निर्माणको शिलान्यास गरे । बाँकी २ वटा स्थानीय तहले भने भवन निर्माणका लागि आवश्यक झन्डै ९ रोपनी जग्गा नभएको भन्दै शिलान्यास गर्न पाएनन् ।

 

२ वर्षभित्रै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले शिलान्यास गरिएका भवनको अहिलेसम्म निर्माण सुरु नहँुदा स्थानीय निरास छन् । संरचना बनाउनुअघि जग्गा व्यवस्थापनसहित डिपिआरलगायत तयारी नगरिँदा शिलान्यास भएको लामो समयसम्म पनि भवन निर्माणको काम सुरु भएको छैन । शिलान्यास गरिएको झन्डै १० महिना भएको छ । यो अवधिसम्म केही पालिकाले टेन्डर गरेर सम्झौता गरेका छन् भने केहीले टेन्डर प्रक्रिया नै सुरु गरेका छैनन् । निर्माण गर्ने भनिएका आधारभूत अस्पताल १० देखि १५ शय्यासम्मका हुन् ।

 

जिल्लाको बागचौर नगरपालिकामा निर्माण गर्ने भनिएको आधारभूत अस्पतालका लागि अहिलेसम्म जग्गा व्यवस्थापन हुन सकेको छैन । १५ शय्याको अस्पताल हुनुपर्नेमा १० शय्याको मात्रै भएकाले तत्कालीन अवस्थामा शिलान्यास हुन सकेन । तर, अहिले जग्गा व्यवस्थान हुन नसक्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख हरिबहादुर कठायतले बताए । प्राथमिक स्वास्थ्य केन्द्र थारमारे भएको स्थानमा आवश्यक जग्गा नहुँदा समस्या देखिएको उनको भनाइ छ ।

 

छत्रेश्वरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरा, कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकी, कालीमाटी गाउँपालिकाको कालीमाटी रामपुर स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभूत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भल्चौर स्वास्थ्य केन्द्रमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने योजना छ ।

 

यस्तै, बागचौर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र थारमारे र सिद्धकुमाख गाउँपालिकाको कालालेख स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्ने लक्ष्य छ । शिलान्यास गरिएको देवस्थल स्वास्थ्य चौकीमा पर्याप्त जग्गा नभएपछि अर्को स्थान सल्लीबजार नजिकै जग्गा खरिद गरिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिए । नगरसभा भएपछि टेन्डरलगायत कार्य अगाडि बढ्ने उनको दाबी छ ।

 

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले आधारभूत अस्पताल निर्माण थालनी गर्ने तयारीमा रहेको बताए । स्थानीयले अस्पतालका लागि जग्गादान गरेपछि सहज भएको उनको भनाइ छ । टेन्डरलगायत सबै काम सम्पन्न भएको र बर्खा सकिएपछि काम थालिने उनले बताए । जिल्लाका ८ वटा आधारभूत अस्पताल निर्माणका लागि जम्मा ९ करोड ७८ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।