बैंकले बढाए ब्याजदरः कसको कति


  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।  

 

बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५) को छ ।  बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ९ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले ९ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन्  । 

 

त्यसैगरी एनएमबी बैंकले ९ दशमलव ५२, सानिमा बैंकले ९ दशमलव ५१, ग्लोबल आईएमई बैंकले ९ दशमलव ५० प्रतिशत नबिलले साधारणमा ९ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले ९ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले ९ दशमलव २५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९ दशमलव ०२ प्रतिशत र  लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन् । 

 

त्यस्तै बैंक अफ काठमाडौँले ८ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले ८ दशमलव ७६ प्रतिशत, माछापुच्छ«े बैंकले ८ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले ८ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले ८ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले ८ दशमलव ५५, कुमारी बैंकले ८ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले ८ दशमलव ५ प्रतिशत, प्रभु बैंकले ८ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।


 
बैंकहरूले साधारण निक्षेपमा न्यूनतम ४ दशमलव २६ देखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् । 


    
बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ ।  तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म ३  खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा  सात दिनका अवधिको   २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको  ३० अर्ब र भदौ ३१ मा  २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।