close

न्याय सम्पादनमा नौलो अभ्यास, ... त्यसपछि घटे उजुरी

न्याय सम्पादनमा नौलो अभ्यास, ... त्यसपछि घटे उजुरी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम–  स्थानीय तहका न्यायिक समितिमा उजुरी घटेका छन् । न्यायिक समिति गठन भएको पहिलो आर्थिक वर्ष ०७४÷७५ मा जिल्लाका ६ स्थानीय तहमा गठित न्यायिक समितिमा २ सय ४९ उजुरी परेका थिए । 

 

त्यसपछिको आव ०७५/७६ मा न्यायिक समितिमा पर्ने उजुरी घटेर २ सय २९ पुगेकामा आव ०७६/७७ मा उजुरी संख्या घटेर १ सय ७३ पुगेको छ । चालू आव ०७७र७८ को अहिलेसम्म ८७ उजुरी परेका छन् । 

 

सबै स्थानीय तहमा बर्सेनि उजुरी घट्दै गइरहेको तथ्यांकले देखाएको छ । वडा तहमै मेलमिलाप समिति बनाइएपछि न्यायिक समितिमा आउने उजुरी घट्दै गएको मुसिकोट नगर न्यायिक समिति संयोजक प्रेमकुमारी सुनार केसीले बताइन् ।

 

‘प्रत्येक वडामा मेलमिलाप समिति रहेका र वडामै मिल्ने उजुरी त्यहीँ मिलाइँदा नगरपालिकामा रहेको न्यायिक समितिमा कम उजुरी आइरहेका छन्’, उनले भनिन् । जिल्लाका अधिकांश वडामा मेलमिलाप समिति गठन गरिएका छन् । 

 

स्थानीय तह गठनपछि हरेक पालिकामा उपप्रमुख र उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन हुने प्रावधान छ । नगरमा न्यायिक समिति र वडामा मेलमिलाप समितिले मेलमिलापको काम गरिरहेको चौरजहारी नगरपालिका उपप्रमुख राधा रोकाले जानकारी दिइन् ।

 

विगत ३ आर्थिक वर्षमा जिल्लाका ६ न्यायिक समितिमा ७ सय ४६ मुद्दा परेका छन् । तीमध्ये ५ सय ९० मुद्दा फस्र्योट भएका छन् ।