close

मिक्वाखोलामा देउसी-भैलो प्रतिबन्ध

मिक्वाखोलामा देउसी-भैलो प्रतिबन्ध

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको केन्द्र वडा नम्बर- ४ साँवाले यस वर्षको तिहारमा आफ्नो वडा क्षेत्रभित्र देउसी-भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।


आफ्नो वडाभित्र देउसी-भैलो प्रतिबन्ध गरेको वडाले वडाभित्रका नागरिकलाई पनि पालिकाभित्रकै अन्य वडासहित कुनै ठाउँमा गएर देउसी-भैलो खेल्नमा समेत रोक लगाएको छ ।


वडाध्यक्ष भीम थलङले सूचना जारी गर्दै कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि यस्तो निश्कर्षमा पुगेको बताएका छन् । वडा क्षेत्रभित्र देउसी-भैलो खेल्न आउने र वडाका नागरिक देउसी-भैलो खेल्न बाहिर जाने आउने कार्यले संक्रमण भित्रिन सक्ने भएकाले प्रतिबन्ध लगाइएको उनको भनाइ छ ।


देउसी-भैलो, सामूहिक रूपमा खेलिने खेलकुद, मेला जात्रा, सभा सम्मेलन र रमाइलो रूपमा मनाइने उत्सवसहितका मानिसको जमघट हुने कार्यहरूमा सरकारले नै प्रतिबन्ध लगाइसकेको अवस्थामा आफूहरूले वडाका नागरिकलाई थप सजग गराएको वडा अध्यक्ष थलङले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यसअघि नै देउसी-भैलोसहितका मानिस जमघट हुने सबै कार्यहरू नगर्न/नगराउन जिल्लाका नागरिकमा अपिल गरिसकेको छ । चाडपर्व मनाउन घर गई कार्यक्षेत्रमा फर्किएका शिक्षक तथा कर्मचारीलाई समेत उनले कम्तीमा १४ दिन होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।


कार्यक्षेत्रमा फर्किएका शिक्षक तथा कर्मचारीलाई अनलाइनसहितको वैकल्पिक उपायको प्रयोग गरी कार्य सम्पादन गर्नसमेत सुझाएका छन् । होम आइसोलेसन बस्दाको अवधिलाई कार्यक्षेत्रमै रहेर कार्य सम्पादन गरे सरहको मान्यता दिने प्रस्ताव छ । तर, त्यो सुविधा कार्यक्षेत्रमा नआई घरमै रहनेका हकमा भने लागू हुनेछैन ।