close

वडा अध्यक्षको पहलमा विपन्नलाई घर 

वडा अध्यक्षको पहलमा विपन्नलाई घर 

Trulli
ADVERTISEMENT

खोटाङ- छाप्रोमा बस्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ४ बडहरेका काशी नेपाली जस्तापाताले छाएको दुई कोठे चिटिक्कको नयाँ घरमा सर्न पाउँदा दंग छन् । बडहरेका वडाध्यक्ष किशोर बस्नेतको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै मापदण्डअनुसार नयाँ घर निर्माण गरिएपछि नेपाली परिवारले नयाँ घर पाएको हो ।

 

७ वर्षदेखि बडहरेको तल्लो खोक्सेलीमा टहरा बनाएर बसिरहेका नेपाली श्रीमती, ४ छोरा र ३ छोरीसहित दसंै फूलपातीका दिन ब्राह्मणबाट शान्तिस्वस्ति गराएर नयाँ घर सरे । 


भूकम्पपछि गाउँमा पुनर्निर्माण अभियान चले/चलाइए । भत्केका र चर्केका घरका ठाउँमा जस्तापाताका घर ठडिए । तर, पुनर्निर्माण अभियानले नेपाली परिवारलाई छोएन । कारण थियो, ओत लाग्ने सानो छाप्रो । 


छाप्रोलाई भूकम्पले क्षति पुर्‍याएको देखाउन नसकेपछि नेपालीको घर पुनर्निर्माणको सूचीमा अटेन । अभियानमा नसमेटिएका नेपाली परिवारको पुनर्वास गराउन वडाध्यक्ष बस्नेतले नयाँ घर निर्माणमा अग्रसर लिए ।

 

आफैंले पारिश्रमिक उपलव्ध गराउने गरी सिकर्मी र डकर्मी लगाएर नेपालीको नयाँ घर बनाइदिएको वडाध्यक्ष बस्नेतले बताए । ‘आफैंले घर निर्माण गरिरहेकाले मेरै घर बनाउने सिमेन्ट र रड उपलब्ध गराएँ । निर्माणमा खटिने कामदार आफैंले लगाएँ । ट्याक्टर व्यवसायीसँग हारगुहार गरेर बालुवा निःशुल्क जुटाइदिएँ,’ वडाध्यक्ष बस्नेत खुसी सुनिए ।

 

घर बनाउँदा छानाबाहेक २ लाख ७० हजार खर्च लागेको उनले बताए । हातमुख जोड्न नसक्ने नेपालीको घर बनाउँदा खटिएका मजदुरको ज्यालासमेत आफैंले बेहोरेको बस्नेत सुनाउँछन् । नेपाली हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका हुन् । बिहेपछि ससुराली गाउँकै तल्लो खोक्सेलीमा १ रोपनी जग्गा किनेर झुपडी बनाएर बस्दै आएका थिए ।

 

करिब ३ महिनामा ठडिएको घरको जस्तापाता भने बडहरेमा सञ्चालित ‘एक घर एक छानो’ कार्यक्रमबाट हालिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए । ‘घरको पर्खाल ठडिए पनि छाना हाल्ने काम बाँकी रह्यो,’ बस्नेतले भने, ‘एक घर एक छानो कार्यक्रमका लागि वडाबाट ५ लाख विनियोजन गरेका थियौं । त्यसैबाट सम्बोधन हुने गरी छानो हालिदिएँ ।’ 

 

नेपाली परिवारले दसैं पनि नयाँ घरमै मनाएको छ । विपन्न नेपालीले ज्याला-मजदुरी गरेर परिवारको खानानाना जुटाउँदै आएको छ ।


घर प्राधिकरणको मापदण्डअनुसारै बनाइएकाले आवास अनुदानका लागि पुनरावेदन गर्न लगाइएको वडाध्यक्ष बस्नेतले बताए । ‘दिगो थातबासको व्यवस्थापछि नेपालीको परिवारमा खुसी छाएको छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनमा यति धेरै खुसी छु कि अझ यस्तै सामाजिक सेवा गरेर गरिब, विपन्नको मुहार हँसाउने चाहना छ ।’