close

जनकपुरका सडकपेटीमा ठेलागाडा व्यापारीको हैकम

जनकपुरका सडकपेटीमा ठेलागाडा व्यापारीको हैकम

Trulli
ADVERTISEMENT

धनुषा - सीताको जन्मभूमि र मिथिलाको अध्यात्मिक सहर जनकपुरधामको महिमा गरिसाध्य छैन । तर, धार्मिक, पर्यटकीय स्थल जनकपुरधाम उपमहानगरभित्रका सडकपेटीमा नागरिक हिँडडुल गर्न निषेधजस्तै छ ।


अहिले नगरभित्र सडक र सडकपेटी, फुटपाथको अस्तित्व पनि छ । तर, सडकपेटीको सदुपयोग बटुवाले गर्न पाएका छैनन् । उपमहानगरको बढी भीडभाड हुने स्थानका सडकपेटीमा व्यापारीले कब्जा जमाएका छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाममा पछिल्लो चिल्लो र फराकिलो समय सडक बन्यो । सडक दायाँबायाँ मान्छे हिँड्न मिल्न गेरी पेटी पनि बनाइए । 

 

सडकपेटी त बने तर त्यहाँ खुद्रामसिना व्यापारीले अस्थायी पसलै सञ्चालन गर्न थालेपछि बटुवालाई पुनः बीच सडकैबाट नहिँडी धरै छैन । सडक र फुटपाथको राम्रो व्यवस्थापन नहुँदा स्थानीय बीच सडकबाटै आउजाउ गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।


उपमहानगरको नगर प्रहरी, पुलिस प्रशासनले ध्यान नदिँदा सडकपेटीमाथि ठेलागाडा व्यापार गर्नेहरूले हैकम जमाएको स्थानीयको गुनासो छ ।  जनकपुरको मुटु जानकी चोक, राम चोक, पुरानो बसपार्कलगायत उपमहानगरभित्रको प्रमुख सबैजसो स्थानमा फुटपाथ व्यापारीले कब्जा गरेका छन् । सामान्य खुद्रा व्यापारीदेखी ठूला पसल र प्रयोगविहीन सामग्री फुटपाथमा थुपारिएको छ ।


‘सडकपेटी कुरुप भइसक्यो । जनकपुर-४ राम चोकमा त कपाल काट्ने सैलु नै सञ्चालन गरिएको छ । सरोकारवाला निकायको बेवास्ताले बटुवा सडकमै हिँड्नु परेको छ । तर, फुटपाथ भने अन्य प्रयोजनमा प्रयोग भएको छ’, स्थानीय व्यापारी राजु कापडी भन्छन् । 

 

नगरप्रमुख लालकिशोर साहले सडकपेटी ठेलागाडाको व्यापारले कब्जा गरे पनि नगर प्रहरी परिचालन नगरेको उनको गुनासो छ । सडकपेटीमा पसल सञ्चालन गर्नेसँग उपमहानगरले पैसा (कर) मात्र लिने हुँदा उनीहरूमाथि कारबाही नगरेको स्थानीयको दाबी छ ।

 

फुटपाथमा पसल चलाइरहेकामध्ये कसैले खानानाना जुटाउन यसो गर्नु परेको बताउँछन् भने कोही नाजवाफ हुन्छन् । ‘गरिब भएकाले फुटपाथमै सामान राखेर जीवन चलाउँदै आएको छु’, राम चोकको पेटीमा पसल थापेका एक व्यापारी सुनाउँछन् । जनकपुरधाम उपमहानगरमा नगर प्रहरी भए पनि तिनले नगरलाई व्यवस्थित बनाउन सिन्कोसम्म नभाँचेको स्थानीय गुनासो गर्छन् ।


फुटपाथ हटाउने प्रयास धेरैचोटि गरे पनि सफलता हात नलागेको उपमहानगरको वडा-४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए । उनले भने, ‘जनप्रतिनिधि भएको नाताले सम्झाइ-बुझाइ गरेर सडकपेटी खाली गर्ने हो । अटेर गरे कानुनी रुपमै सडकपेटीको अतिक्रमण हटाउँछौं ।’ उपमहानगरले सडकपेटी व्यवस्थित जिम्मा पाएकाले यसबारे बोर्ड बैठकमा प्रश्न उठाएको उनले दाबी गरे । पुरानो १६ वडाको जनकपुरधाम उपमहानगर भए   पछि अहिले २५ वडामा विभक्त छ । 


उपमहानगरले सडकपेटीलाई कब्जाबाट मुक्त गराउन पहल नगरेपछि धनुषा ट्राफिकले तयारी थालेको छ ।


धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपाने भन्छन्, ‘अब उपमहानगरले यस विषयमा नसोचे कानुनअनुसार अगाडि बढेर सडकपेटीको दोहन गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं । सडकपेटी उपमहानगर र नगर प्रहरीको कार्यक्षेत्रमा पर्ने भए पनि उनीहरूले चासो नदेखिएपछि ट्राफिक प्रहरी अघि सरेको हो ।’ 


जनकपुरधाम प्रदेश २ को मुकाम पनि हो । उपमहानगरभित्रका प्रमुख सडक बजार व्यवस्थित गर्न र फुटपाथको समुचित प्रयोग गर्न-गराउनु स्थानीय सरकारको दायित्व भए यतातिर उनीहरूले चासो नदिएको स्थानीयबासी बताउँछन् ।