close

सिरिजंगाले ल्यायो गाउँ गाउँमै रोजगार कार्यक्रम

सिरिजंगाले ल्यायो गाउँ गाउँमै रोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ कार्यक्रम ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमेर स्वदेश फर्किएका नगरबासीको सीप र क्षमतालाई उपयोग गरी स्थानीय स्तरमै उद्यमशील बनाउन नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।


८ वडा रहेको गाउँपालिकाले कार्यक्रमका लागि प्रत्येक वडामा ५-५ लाख रुपैयाँका दरले वडालाई रकम उपलब्ध गराउने भएको छ । प्राप्त रकम वडास्तरमै विनियोजन गरी वैदेशिक रोजगारी गुमेर फर्किएकाहरूलाई उद्यमशील बनाउन खर्चिने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए ।

 

‘वडाले आ-आफ्नो वडामा वैदेशिक रोजगारी गुमेर फर्किएकाहरूको सीपको आधारसमेतको लगत तयार गर्ने नगरप्रमुख गुरुङले जानकारी दिए । यो कार्य मंसिर दोस्रो सातासम्म पूरा गरिसक्ने योजना रहेको उनले सुनाए ।


‘प्राप्त लगतका आधारमा वैदेशिक रोजगारी गुमेर फर्किएकाहरूलाई समूहमा आबद्ध गरिनेछ । समूहमार्फत वडाका विपन्न समुदायका सदस्यलाई रोजगारीको अवसर सिर्जना हुने गरी सीपअनुसारको उद्यम सञ्चालनका लागि उक्त रकम परिचालन गर्न सकिने कार्यविधि तयार भएको छ’, गुरुङले भने ।


उद्यम सञ्चालनका लागि पुँजी अभाव भए स्थानीय सहकारी तथा वित्तीय संस्थाहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन गाउँपालिका आफैं जमानीसमेत बस्ने गरी कार्यविधि तयार भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।


‘उद्यम सञ्चालन समूहको लागत साझेदारीमा सञ्चालन हुने प्रावधान बनेको छ । समुदायलाई पनि उद्यममा आफ्नो लगानी र अपनत्व सिर्जना गर्न यस्तो प्रावधान राखिएको हो,’ घिमिरेले भने ।


गाउँपालिकाले संघीय तथा प्रादेशिक सरकारका निकायबाट जारी सूचनाबमोजिम कार्यक्रम लागत साझेदारीबापत व्यर्होनुपर्ने रकम जुटाउन स्थानीय सहकारी तथा वित्तीय संस्थासँग सहकार्य गर्नेछ । सहकार्य गर्दा पनि रकम नपुगे समपूरक कोषबाट उपलब्ध गराउने व्यवस्था गरिएको घिमिरेले बताए ।


‘लगानी फसाएर विदेशको रोजगारीमा गएर गाउँ फर्किएकाहरूलाई गाउँमै उद्यम बनाएर सीपमार्फत आर्थिक समृद्धिका लागि यस्तो कार्यक्रम ल्याइएको हो’, गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-३ का वडाध्यक्ष सन्तोष चाम्लिङले भने ।