close

उपभोक्ता समितिको हैरानी हटाउन सिदिङ्वाको ‘योजना पुस्तिका’

उपभोक्ता समितिको हैरानी हटाउन सिदिङ्वाको ‘योजना पुस्तिका’

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले योजना सम्झौता तथा फरफारकका क्रममा उपभोक्ता समितिलाई हुने अनावश्यक झन्झट रोक्न ‘योजना पुस्तिका’ प्रयोगमा ल्याएको छ । आवश्यक कागजी प्रक्रियालाई सरलीकृत गर्न यस्तो पुस्तिका प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।

 

पुस्तिकामा योजना सम्झौता तथा फरफारक गर्दा चाहिने आवश्यकीय कागजातको नमुना फारम संलग्न रहेको छ । उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीले सम्झौतापूर्व नै यस्तो पुस्तिका गाउँपालिकाको योजना तथा प्रशासन शाखाबाट बुझेर लैजान सक्ने व्यवस्था गरिएको छ ।


पुस्तिकामा उल्लेख भएअनुसारका सबै प्रक्रिया पूरा गरेर ल्याएपछि गाउँपालिकाले उपभोक्ता समितिसँग योजना सञ्चालन सम्झौता गर्नेछ । सोही पुस्तिकामा योजनाको सम्झौतापत्र तथा सम्झौता हुँदाका बखत मागिएका कागजात राखिनेछन् । 


दुई प्रति यस्तो पुस्तिका एक प्रति सम्झौता गर्ने निकायको रुपमा गाउँपालिकाले लिनेछ भने अर्को प्रति सम्झौता गर्ने उपभोक्ता समितिलाई दिइनेछ । पुस्तिकामा सम्झौतापछि उपभोक्ता समितिले गर्ने कार्य सम्पादनको तालिकासमेत संलग्न भएको हुनेछ । यो तालिका उपभोक्ता समितिले तयार गर्नुपर्नेछ ।

 

तालिकाअनुसारको कार्य प्रगति भए-नभएको मूल्यांकन फारमसमेत संलग्न राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए । ‘यस्तो मूल्यांकन फारमले उपभोक्ता समिति आफैंलाई पनि कार्यतालिकाअनुसार कार्य सम्पादन भए-नभएको स्व-मूल्यांकनका लागिसमेत सघाउ पुर्‍याउने विश्वास छ’, लिङ्देनले भने ।

 

योजना पुस्तिकामा उपभोक्ता समितिले लिएको पेस्की रकमदेखि अन्तिम किस्ता भुक्तानीसम्मका सबै विवरण बताउने कागजात रहनेछन् । योजना पुस्तिका खोल्नेबित्तिकै त्यो योजनाको सम्झौतादेखि कार्य सम्पन्न प्रतिवेदन र अन्तिम किस्ता भुक्तानीसम्मका विवरण स्पष्ट देखियोस् भनेरै यो व्यवस्था गरिएको लिङ्देनले जानकारी दिए ।

 

योजना पुस्तिकाले सम्झौता गर्ने र कार्य सम्पादन गर्ने जिम्मेवारी पाएका पालिका र उपभोक्ता समितिलाई बढी जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा छ । यसका साथै सम्झौतादेखि अन्तिम किस्ता भुक्तानीसम्मका सबै प्रक्रियाबारे पनि त्यहीँ पुस्तिकाले उपभोक्ता समितिलाई जानकारी दिने हुँदा यो पुस्तिका प्रभावी हुने गाउँपालिकाको विश्वास छ ।