close

धीमेले हौस्याएपछि भक्तपुरमा घन्किएको खींदेखि लाखा खींःसम्मकाे धून

धीमेले हौस्याएपछि भक्तपुरमा घन्किएको खींदेखि लाखा खींःसम्मकाे धून

Trulli
ADVERTISEMENT

भक्तपुर - सांस्कृतिक नगर भक्तपुरमा जब धिमे बाजाको गुन्जायमान हुन थाल्छ, तब रामसुन्दर कुलुजुका दुवै कान ठाडा भइहाल्छन् । झन्डै पाँच दशक टेकेका उनी भक्तपुरको मुलाछेंमा धिमेबाजा बनाउने काम गर्छन् । भक्तपुर नगरमा बज्ने अधिकांश धीमेमा आफ्नाे मिहिनेत परेकैले होला, उनी धीमेको आवाज सुन्नेबित्तिकै मनमनै रमिन्छन् । 


रामसुन्दरकै छेउमा छन्, विनोद कुलुजु । उनी पनि रामसुन्दरसँगै धीमेबाजा बनाउँछन् । ‘यहाँ धीमेबाजा मात्रै होइन, हामी नेवारी समुदायको जात्राका लागि चाहिने सबै खाले बाजा बनाउँछौं’, रामसुन्दरले भने, ‘त्यसैले होला, जात्राहरूमा बाजा बज्नेबित्तिकै आफ्नोपनको आभास हुन्छ । अनि, ध्यान दिएर सुन्छु ।’ 

 

रामसुन्दर उमेरले ५० पुग्नै आँटे । उनको जीवनको तीन दशक बाजा बनाएरै बित्यो । ‘बाँकी जीवन पनि यसैमा बिताउने लक्ष्य छु,’ उनले सुनाए । आफ्नो बुबासँगै यो कर्म सिकेका उनी हाल सबै बाजा बनाउन पोख्त छन् । बाजा बनाउन सुरु-सुरुमा हात दुखे पनि अहिले सामान्य भइसकेको उनले अनुभव सुनाए । 


संसार छाडेर गए पनि बुबाले सिकाएको सीप उनमा अझै ताजै छ । बुबाले सिकाएको सीपबाटै परिवारको जीविकोपार्जन भएकामा उनी खुसी छन् । ‘परिवारमा हामी नौ सदस्य छौं । हाम्रो पेसै बाजा बनाउने हो । पुरुषजति सबैले बाजा बनाउँछन्,’ उनले भने । महिलाले खरी राख्ने र सुकाउने काम गर्छन् । 


बाजा बनाउने दुवैलाई सबै बाजा भने बजाउन आउँदैन । आफूलाई सबै बाजा बनाउन आए पनि बजाउन भने नसिकेको विनोद बताउँछन् ।आफूले २० वर्ष अगाडि धीमेबाजा बजाउन सिकेको तर प्रयोगमा नआएकाले धीमेका केही बोली मात्र बजाउन आउने रामसुन्दरले बताए । 


उनीहरूले धिमे बाजा मात्र नभएर नेवारी समुदायको जात्राका लागि आवश्यक पर्ने नौ बाजा पनि बनाउँछन् । विनोदले भने, ‘हामी धीमे मात्र होइन, पच्छेमा, मादल, नगरा, धाँ, तवला, ध्वल, खीं, लाला खींः बाजा बनाउँछौं ।’ 

 

ग्राहकको अर्डरअनुसार बाजा बनाउने उनीहरूले लकडाउनका कारण ९० प्रतिशतले व्यापार घटेको सुनाउँछन् । रामसुन्दरले भने, ‘कोरोना महामारीसँगै भक्तपुरका जात्रा पनि बन्द भए । जात्रासँगै धीमे बाजा बज्न छाडे । त्यसैले बाजा बनाउने तथा मर्मत गर्ने ग्राहक कमी भयो । समय-समयमा बाजा बनाउन आवश्यक पर्ने सामानको समेत अभाव भयो ।’

 

उनले माटाका भाँडा, छाला, पाताको बाजा बनाउँछन् । त्यसका लागि माटाका भाँडा, छाला, पाता, छालाको धागो, खरी, कैची, ढुंगालगायत सामान आवश्यक पर्छ । आफूहरूले बनाएको बाजा भक्तपुरका चारवटै नगरपालिकाका साथै बनेपामा पनि पुग्ने रामसुन्दरले जानकारी दिए । सिजनअनुसार बाजा बेच्ने उनीहरू मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुने बताउँछन् ।


उनीहरूका अनुसार जात्रा बाजाको सिजन हाे । अरुबेला कम बन्छ तर काम नै अभाव भने हुँदैन । ‘कहिलेकाहीँ त बिहानदेखि बेलुकैसम्म एकछिन फुर्सद पनि मिल्दैन,’ रामसुन्दरले भने ।

 

विनोद आफूले बाजाको प्रयोग धेरै मात्रामा गरे पनि स्थानीय तहले बाजा बनाउने तालिम नदिएकामा गुनासो पोख्छन् । नगरपालिकाले बाजा बजाउने तालिम ल्याए युवाहरूलाई थप प्रोत्साहन मिल्ने उनको सुझाव छ ।