सिमी र भटमाससँग चामल साट्ने दुर्गम गाउँका कथा


  • change font
  • change font
  • change font

रुकुमपूर्व - रुकुमपूर्वको दुर्गम गाउँका घर-घरमै सिमी दिएर चामल साटासाट हुने गरेको छ । पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका दुर्गम भेगका कृषकले  खेतबारीमा सिमी उत्पादन गर्छन् । कृषकले उत्पादन गरेको सिमी बेचेर चामल पाइररहेका छन् । 


सिमी मात्र नभई मसुरो, भटमास र मकैसँग पनि चामल साट्ने गरिएको भूमे-१ लुकुमका स्थानीय एवं सिद्धचौर मावि लुकुमका प्रधानाध्यपक रामबहादुर पुनले बताए । ‘सबै गाउँमा सडक पुगेका छैनन्’, पुनले भने, ‘घोडा/खच्चडमा चामल बोकाएर अहिले घर-घरमै गाउँलेले उत्पादन गरेको अन्नसँग चामल साट्न व्यापारी आउने गरेका छन् ।’ 

 

खेतबारीमा धान उत्पादन नभए पनि घर-घरमै आउने चामल सिमीसँग साट्न पाएपछि गाउँलेलाई सहज भएको उनको अनुभव छ । पुनले भने, ‘पहिला हाम्रै हजुरबा, बाआमा पुस्तासम्मकाले हिँडेरै दाङ, नेपालगञ्जलगायत सहरबाट चामल बोकेर ल्याउँथे रे । अहिले बारीमै उत्पादित सिमीले घरमै चामल आउन थाले ।’  

 

घरमै चामल पाएपछि स्थानीयले धान खेती गर्नसमेत छाडेको पुन बताउँछन् । सिमी, भटमास, मुसुरो, मकैजस्ता खेतबारीमा उत्पादन हुने अन्नबालीबाटै घरमै चामल पाइने भएपछि स्थानीयले धान खेतीलाई बिर्सिएको पुन सुनाउँछन् ।

 

एक भाग सिमीको तीन भाग चामल

 

किसानको घर-घरमै घोडा-खच्चरमा चामल बोकाएर सिमीलगायत अरू अन्नसँग चामल साटिरहेको भूमे-२ गाबाङका पदम कामीले बताए । ‘एक भाग सिमीसँग तीन भाग चामल लिने गरेका छौं,’ कामीले भने, ‘त्यसैगरी एक भाग मुसुरोसँग दुई भाग चामल र भटमास, मकैलगायत अन्य खाद्यान्नसँग बराबरीमै साट्छौं ।’

 

सिमी, मुसुरोलगायत तेलहन र दलहन खाद्यान्न माग धेरै भए पनि उत्पादन भने कम भइरहेको पुनले जानकारी दिए । व्यापारीले ठाउँअनुसार चामल साट्ने गरेका छन् भने मारिङ बहुउद्देशीय संस्थाले भने भूमे-२ खाबाङ बगरमा एकै किसिमको एक भाग सिमीको तीन भाग चामल, एक भाग मुसुरोको दुई भाग चामल अन्य व्यापारीले भन्दा केही बढीमा साट्ने गरेको छ ।


व्यापारीले दुई/तीन बोरा चामल दिएपछि आफूले एक बोरा मुसुरो/सिमी दिने गरेको र त्यो सिमी व्यापारीले दोब्बर मूल्यमा बेच्ने गरेको कृषक बताउँछन् । 

 

जिल्लामा खेत बाँझै राखिने हुँदा धान उत्पादन कम हुने गरेको छ । मुख्य खाद्यान्न बाली मकै, गहुँ, जौ, आलु साटेर स्थानीयले चामल किन्ने गरेका छन्  ।