close

गर्भ जचाउनूस् पुरस्कार लैजानूस् !

गर्भ जचाउनूस् पुरस्कार लैजानूस् !

Trulli
ADVERTISEMENT

रूपन्देही - तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ संचालन गरेको छ । नगरपालिकाले गत वर्षदेखि सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो । 


परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ । यसअनुसार गर्भवती महिलाले चार महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमूलक क्यालेण्डर, छ महिनामा पोषण सेट, आठ महिनामा सरसफाई सेट र नौ महिनामा मसला सेट प्राप्त गर्नेछन् । 


यस्तै, नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट तथा संघीय सरकारले उपलब्ध गराउने यातायात रकमको अतिरिक्त थप एक हजार रुपैयाँ प्रोत्साहन रकम प्राप्त गर्नेछन् । 


नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने आइरन चक्कीसँगै आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर गर्भवती महिलालाई निःशुल्क रूपमा क्याल्सियमसमेत दिने गरेको छ । 


गर्भावस्था विशेषावस्था भएकाले यो समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार, सरसफाई आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहका लागि यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । यस कार्यक्रमले गर्भवती महिलाको स्वास्थ्यमा विशेष ख्याल राख्न सबैको ध्यानाकर्षण गराउने र त्यसबाट गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य राम्रो हुने उनको विश्वास छ । 


कार्यक्रमको प्रभावकारी कार्यान्वयनले नियमित गर्भ जाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको संख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा मिल्ने चौधरीको भनाइ छ । 


नगरपालिकामा वार्षिक तीन हजार महिलाले गर्भवती सेवा लिने अनुमान छ । यो कार्यक्रमले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउने नगरपालिकाको भनाइ छ । 

 

तिलोत्तमा नगरपालिकाले ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ कार्यक्रम नगरका सबै सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको छ । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्‍याउने नीतिअनुसार हाल तिलोत्तमाका १४ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । 


गर्भवती महिलालाई पहिलो जाँचमा उपलब्ध गराइने सन्देशमूलक क्यालेण्डरमा खोप, आइरन चक्की, क्याल्सियम चक्की, गर्भ जाँचलगायतका विषयमा रुजुसूचीको साथै गर्भावस्थामा गर्नुपर्ने सावधानीको विषयमा जानकारी गराइएको छ । यो क्यालेण्डर गर्भवती महिलाको घरमा सबैले देख्नेगरी राख्न लगाइने स्वास्थ्य शाखाको भनाइ छ । 


मधवलिया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरूलाई उपहार सेट प्रदान गरी कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले स्वास्थ्य नै मानिसको पहिलो धन भएकाले नागरिकको स्वास्थ्य सेवा प्रवद्र्धनका लागि यो कार्यक्रम संचालन गरिएको बताए । 


नगरभित्रका सरकारी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै उनले त्यसको लाभ उठाउन नगरवासीलाई आग्रह गरे ।


सरकारी स्वास्थ्य संस्थामा पनि गुणस्तरीय सेवा पाइन्छ भन्ने कुराको अनुभूति गर्नेगरी काम भइरहेको उनको भनाइ छ ।