close

बैंक खातामै आउँदै छ ओखलढुंगेली बाआमाको भत्ता

बैंक खातामै आउँदै छ ओखलढुंगेली बाआमाको भत्ता

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाका स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट गर्ने तयारी थालेका छन् ।


सिद्धिचरण नगरपालिका, मोलुङ, मानेभन्ज्याङ र चिशंखुगढी गाउँपालिकाले भत्ता वितरण बैंकिङ प्रणालीबाट गर्ने तयारी थालेका हुन् । संघीय सरकारले विद्युतीय शासनका लागि भत्ता वितरण बैंक खातामार्फत मात्र गर्ने नीति लिएपछि तीनै तहले त्यसको तयारी थालेका हुन् ।


बैंकको पहुँच पुगेका स्थानीय तहमा क्रमशः बैंकिङ कारोबार अनिवार्य गर्ने सरकारी नीतिअनुसार चार तह त्यसको तयारीमा जुटेका छन् । मानेभन्ज्याङ गाउँपालिकाले यसअघि नै वाणिज्य बैंकमार्फत भत्ता वितरणका लागि सम्झौता गरिसकेको छ ।

 

चिशंखुगढी, मोलुङ र सिद्धिचरणले पूर्वतयारी थालेका छन् । यी तहले दोस्रो चौमासिक भत्ता बैंकबाट अनिवार्य वितरण गर्नुपर्ने सूचिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समावेश गरेको छ । मानेभन्ज्याङ पनि आउँदो १ चैतदेखि अनिवार्य यो प्रणालीमा आबद्ध हुनुपर्नेछ ।


तयारीका लागि सिद्धिचरण नगरपालिकाले नगरभित्र शाखा कार्यालय खोलेका बैंकहरूसँग छलफल सुरु गरेको छ । भत्ता वितरण बैंकिङ प्रणालीमा गर्नुपर्ने भएकाले छलफल गरेर भत्ता पाउने लाभग्राहीको खाता खोल्ने तथा रकम भुक्तानी प्रक्रिया तथा जटिलताबारे छलफल गरिएको सिद्धिचरण नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए ।


‘पहिलो चरण छलफल गरेर खाता संचालन तथा भुक्तानीमा आउने समस्याबारे छलफल भयो । अब अर्को चरणमा समस्या समाधानका उपायसहित सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकहरू तोकिनेछ’, नगरप्रमुख श्रेष्ठले भने ।


ओखलढुंगा सदमुकामसमेत रहेको सिद्धिचरणमा धेरै बैंकहरू भए पनि स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भएकाले समस्या आउने सरोकारवालाको बुझाइ छ ।


खाता खोल्न टोलटोलमै गएर कागजागत तयारी गर्न सकिने भए पनि आउन नसक्ने र चेकमा हस्ताक्षर गर्न नसक्नेले ल्याप्चे लगाएको चेक अरुलाई साट्न दिन नमिल्ने हुँदा समस्या आउने बैंकहरूले जनाएका छन् ।


लाभग्राहीको खाता संचालन, खातामा रकम निकासा र चेकमार्फत भुक्तानी प्रक्रिया लामो हुने भएकाले हिँडडुल गर्न नसक्नेहरूलाई थप समस्या आउन सक्ने उनीहरूको भनाइ छ ।


यी समस्या समाधानका लागि बैंकमार्फत नै कारोबार गर्न मोलुङ गाउँपालिकाले तयारी थालेको छ । ‘खाता संचालनलगायतको काम सुरु भएको छ’, गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले भने ।


चिशंखुगढीले बैंकिङ प्रणालीमा जानैपर्ने बाध्यता भए पनि जटिलता रहेको जनाएको छ । गाउँपालिका केन्द्रमा इन्टरनेट नचल्ने, एक मात्र बैंकको शाखा रहेकोलगायत कारणबाट समयमा बैंकिङ प्रणाली अपनाउन सजिलो नभएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।


‘बैंकिङ प्रणाली सुशानका हिसाबले उपयुक्त भए पनि अन्य प्राविधिक हिसाबले अशक्त नागरिकले दुःख पाउने अवस्था छ’, उनले भने ।