close

...त्यसपछि भरिए शिक्षकका आँखा

...त्यसपछि भरिए शिक्षकका आँखा

Trulli
ADVERTISEMENT

दार्चुला - ‘हाम्रो बुबाआमा पनि छैन । हामी कसको भरोसामा बाँच्ने ? मेरो बहिनी पनि छ । हाम्रो हजुरबा र आमा बुढा हुनुहुन्छ । हाम्रो कोही पनि छैनन् । हामीलाई स्कुल जान पोसाक, झोला, कापी, किताब पनि छैन । हामीलाई सहयोग गरिदिनुहोस्’, नौ वर्षीया मनिका टमटा र उनीक बहिनी छ वर्षीया शिवानी टमटाले सोमबार लेखेको अपिलपत्र हो यो ।


कोरोनाको संक्रमणपछि विद्यालय भर्खर खुलेका छन्, मालिकार्जुन गाउँपालिकामा । मालिकार्जुन गाउँपालिका- ८ मा रहेको बालकल्याण आधारभूत विद्यालय थक्तोलीमा यस वर्ष भर्ना भएका थिए ती दुई बहिनी । 


आइतबार विद्यालयको गृहकार्य दिएका शिक्षक भुवन पन्तले सोमबार कक्षा प्रवेश गर्नेवित्तिकै गृहकार्य देखाउन आग्रह गरे । गृहकार्य देखाउने बेला मनिका टमटाले कापीकै बीचबाट ‘हाम्रो अपिल’ भन्दै पारिवारिक अवस्था बारेको पत्र देखाइन् । जब त्यो पत्र पढे, आँखा भरिए शिक्षक पन्तका । 


यसअघि ती बालबालिकाको अवस्थाबारे जानकारी पनि थिएन उनलाई । एकाएक पत्र देखाएपछि मनमा छुट्टै भावना पैदा भयो ।


पत्र पढेपछि आमाबुबा र परिवारको अवस्थाबारे सोधपुछ गरियो । परिवार बच्चा सानै हुँदा २०७४ सालमै बुबा रमेशराम टमटाको मृत्यु भयो । आमा जानकी टमटाले आफ्नी कान्छी छोरी तीन महिनाकी हुँदा दोस्रो विवाह गरेर भागिन् । 

 

अहिले हजुरआमा सुन्दरी टमटा र हजुरबुबा जयराम टमटाले पालन पोषण गरेका भए पनि आर्थिक अवस्था नाजुक छ । हजुरबुबा जयरामको मानसिक सन्तुलन ठीक छैन । घरमा काम गर्ने मान्छे कोही छैनन् । हजुरआमा सुन्दरीले भनिन्, ‘घरमा आम्दानी गर्ने कोही छैन ।’

 
साविकको भगवती गाविसमा बस्दै आएका उनीहरू अहिले मालिकार्जुन- ८ को थक्तोलीमा अर्काको घरमा बस्छन् । ‘दुई जना नातनीहरू पढाउन आयस्रोत केही छैन’, उनले भनिन्, ‘श्रीमान मानसिक रूपमा ठीक नहुँदा काम कसले गर्ने ? पहिले भारी बोकेर गुजारा चलाउँदै आएकी छु ।’


नातनीहरूका लागि चाहिने कापी, कलम, पोसाक बनाउने पनि पैसा छैन । ‘घरमै दुई छाक टार्न मुस्किल छ, कसरी पढाऔँ, कसलाई सहयोग मागौँ’, सुन्दरीले भनिन्, ‘घरमा कोही कमाउने नभएपछि बिचल्लीमा छौँ ।’