close

अपांगता भएकाको सेवामा स्थानीय सरकार, कतै परिचयपत्र, कतै लत्ता कपडा

अपांगता भएकाको सेवामा स्थानीय सरकार, कतै परिचयपत्र, कतै लत्ता कपडा

Trulli
ADVERTISEMENT

काठमाडाैं- अपांगता भएका व्यक्तिहरुको संरक्षणमा स्थानीय तहहरले नजिकबाटा चासो देखाउन थालेका छन् । विश्वभर अपांगता दिवस मनाइरहदा स्थानीय तहहरुले आफ्ना पालिकाभित्रका अपांगता भएका व्यक्तिको निःशुल्क बीमा गर्नेदेखि लिएर खाद्य र लत्ता कपडावितरणसम्मका काम गरिरहेका छन् ।

 

सुनकोसीले दियो परिचयपत्र

 

सिन्धुलीको सुनकोसी गाउँपालिकाले आप्mनो क्षेत्रभित्रका अपांगता भएका व्यक्तिलाई घरैमा पुगेर परिचयपत्र वितरण गरेको छ । शारीरिक रूपमा अशक्त तथा अपांगलाई गाउँपालिकाले घरैमा पुगेर परिचयपत्र वितरण अभियान चलाएको हो ।


गाउँपालिकाको वडा– ६ मा ८ र वडा– ७ मा १ गरी ९ जनालाई अपांग परिचयपत्र वितरण गरिएको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहराले जानकारी दिइन् ।

 

इटहरी उपमहानगरको सहयोग

 

सुनसरीको इटहरी उपमहानगरले भने अपांगता दिवसको अवसर पारेर घरका सबै सदस्य अपांग रहेका तामाङ परिवारलाई १ लाख रुपैयाँ प्रदान गरेको छ । नगर उपप्रमुख लक्ष्मी गौतमले तामाङ परिवारलाई रकम हस्तान्तरण गरिन् ।


इटहरी उपमहानगर वडा– २ का मनमाया र लक्ष्मण तामाङका ४ सन्तानमध्ये सबै अपांगता भएका व्यक्ति हुन् ।

 

चन्दननाथले दियो कम्बल र हर्लिक्स


२९औँ अपांगता दिवसको अवसर पारेर जुम्लाको  चन्दननाथ नगरपालिकाले नगरका पूर्ण अशक्त तथा अपांगता भएका १० जना व्यक्तिलाई कम्बल र हर्लिक्स वितरण गरेको छ ।


कार्यक्रममा नगर उपप्रमुख अप्सरादेवी न्यौपाने महतले स्थानीय सरकारले अपांगता भएका र विपन्न वर्गका लागि योजना बनाएर काम गरिरहेको जानकारी दिइन् ।

 

‘सहाराविहीनका लागि राज्य अभिभावक बन्नुपर्छ भन्ने सोचले अपांगलाई हर्लिक्स तथा कम्बल वितरण गरेका हौ’, उनले भनिन् ।

 

परिचयपत्र बाँड्दै बडिमालिका

 

बाजुराको बडिमालिका नगरपालिकाले शारीरिक रूपमा अशक्त तथा अपांगता भएका नगरभित्रका नागरिकलाई घरघरमै पुगेर अपांग परिचयपत्र वितरण सुरु गरेको छ । नगरपालिकाको वडा– ९ का ६१ वर्षीय रति थापालाई अपांग परिचयपत्र वितरण गरेर कार्यक्रम सुरु भएको हो ।


अन्तर्राष्ट्रिय अपांग दिवस अवसर पारेर उनकै घरमा पुगेर ‘क’ वर्गको अपांग परिचयपत्र दिइएको बडिमालिका नगरकी महिला शाखा प्रमुख केशरी रोकायाले बताइन् ।


नगरपालिकाका कर्मचारी र जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्मालगायतको टोली थापाको घरमा पुगेको थियो ।  उनको अवस्था दयनीय रहेकाले ‘क’ वर्गको परिचयपत्र वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले जानकारी दिए ।


मुगुले पनि दियो परिचयपत्र


२९औं अपांगता दिवसको अवसर पारेर मुगुका २५ जना अपांगता भएका व्यक्तिले परिचय पत्र पाएका छन् । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाको पहलमा  उनीहरुले परिचयपत्र पाएका हुन् ।


प्युठानमा पनि सहयोग

अपाङ्ग दिवसको अवसर पारेरै प्युठानका अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले सामाजिक डिभिजन कार्यालय र मल्लरानी गाउँपालिकासँग समन्वय गरी सहयोग गरेको हो ।

 

पोषणयुक्त खाना र न्यानो कपडा

 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ७ विगुटारका ३३ जना अपांगता भएका व्यक्तिलाई पोषणयुक्त खाना र न्यायो कपडा वितरण गरिएको छ । नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाले वडाका अपांगता भएका व्यक्तिलाई पोषणयुक्त खाद्य वस्तु तथा भिटामिन वितरण गरेको हो ।

 

३३ मध्ये एक जना पूर्ण अपागंता भइ संरक्षण विहिन रहेका व्यक्तिलाई भने न्यानो कपडा, भिटामिन तथा अन्य उपभोग्य वस्तुसहितको झोला ‘डिग्निटी किट्’ वितरण गरिएको शाखा अञ्जु कट्वालले जानकारी दिइन् ।