close

सत्ताकाे राजनीतिले उपेक्षामा उखु किसान, भुक्तानी नदिए मृत्युवरण गर्ने चेतावनी (भिडियाे खबर)

सत्ताकाे राजनीतिले उपेक्षामा उखु किसान, भुक्तानी नदिए मृत्युवरण गर्ने चेतावनी (भिडियाे खबर)

ADVERTISEMENT

पुसको महिना, जताततै चिसो । घाम लागिरहेको छ तर भुइँ तातिन पाएको छैन । बिहानैदेखि सडकमा तातो कपडा लगाएर मानिस ओहोरदोहोर गरिरहेका छन् ।  

 

बाटो हो माइतीघरको । सडक जाम छ । जाममा हुँदा कोहीको ध्यान उखु किसानतर्फ सोझिन्छ । तर, कोही ओर्लिएर तपाईंलाई चिसो भयो ? भनेर सोध्ने गर्दैनन् । मानवीय भावना मर्दै गरेको छर्लङ्ग झल्किन्छ । 

 

एकातिर राजनीतिक अभीष्ट पूरा गर्न प्रतिनिधिसभाको विघटन गरेकामा आपत्ति जनाउँदै सरकारकै खेदो खनिएको छ तर किसानलाई सोध्ने कोही छैन यहाँ । होला, राजनीतिक विरोध पनि गर्नुपर्छ ।

 

मुलुकमा जे भइरहेको छ, त्यो कुनै पनि हालतमा अहिलेका लागि उचित थिएन होइन र छैन पनि । तर, उखु किसानले पीडा पोख्दै, आँसु झार्दै गरेको विरोधलाई नै पाखा लगाउन कसरी सकेका होलान् ?

 

राजनीतिक दलहरूलाई पनि किसानको पीडाभन्दा प्रतिनिधिसभा विघटनको पीर बढी छ अनि कसरी पूरा हुन्छन्, किसानका समस्या ? कसरी निको हुन्छ यिनीहरूको घाउ । यिनै दृश्य देख्दा उनीहरू भन्छन्- 'काठमाडौंले हाम्रो केही सुनेन, आशा छ तर भरोसा छैन ।'


उता, राजनीतिक दलका कार्यकर्ता सरकारले यो गरेन, त्यो  गरेन भनेर कोकोहोलो गरिरहँदा उखु किसानको समस्याचाहिँ कसले बुझिदिने भन्दा जवाफ छैन उनीहरूसँग । 


उखु किसानको मात्र होइन, माइतीघर कयौँ पीडितको बह पोख्ने ठाउँ हो । सायद, बह पोख्न चेली माइत पुगे जस्तै सबैको बह सुनिदिने यही माइतीघर हो । तर, माइतीघरमा पुगेका चेली आफ्नो दुःख मेरोभन्दा ठूलो तेरो सायदै भन्छन् ।

 

सर्लाही, सिरहा, रौतहट, महोत्तरी र धनुषाका विभिन्न पालिकामा अहिले कृषक छैनन् । सबै काठमाडौं आएका छन् । उता पनि काम बाँकी नै छ तर पालिकाका प्रमुख र प्रतिनिधिहरू पनि लाचार छन् । न त उद्योगीलाई कारबाही गर्न सक्छन्, न किसानलाई नै केही दिलाशा दिन सक्छन् ।

 

के यी किसान यसरी नै राज्य संयन्त्र, सांसद र नेतासँग लाचार बन्न आएका हुन् ? के प्रतिनिधिसभा विघटन भएपछिको लाचारीपन देखाउँदै सडकमा आएका नेताले किसानलाई आफू पनि लाचार भएको देखाउन खोजेका हुन् ? सरकार, केही त गर !