close

वैदेशिक रोजगारमा आबद्ध महिलालाई वित्तीय साक्षरता

वैदेशिक रोजगारमा आबद्ध महिलालाई वित्तीय साक्षरता

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारमा संलग्न भई वित्तीय साक्षरता कक्षा लिएका वडा नम्बर १४ बुइपाका महिलालाई प्लास्टिक टनेल वितरण गरेको छ । 

 

वैदेशिक रोजगारीमा संलग्न भई २० साताको वित्तीय साक्षरता कक्षा लिएका १५ जना महिलालाई तरकारी खेतीका लागि जनही एक÷एक वटाका दरले प्लास्टिक टनेल वितरण गरिएको हो ।

 

बाल सेवा समाजमार्फत सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा भएको कक्षा लिएका महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्लास्टिक टनेल प्रदान गरेको हो । प्लास्टिक टनेल बुइपाका वडाध्यक्ष दिनेश राईले महिलालाई हस्तान्तरण गरे ।

 

वित्तीय साक्षरता कक्षा लिएका महिलालाई उनीहरूको मागका आधारमा प्लास्टिक टनेल प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । 


प्लास्टिक टनेल वितरणसँगै महिलालाई टनेल घर निर्माण एवं तरकारी उत्पादनका लागि अपनाउनुपर्ने उपाय र सावधानीबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । वित्तीय साक्षरता कक्षामा सहभागी अन्य महिलालाई नगरपालिकाले अर्को चरणमा बाख्रापालन, कुखुरापालन र बंगुरपालनमा सहयोग गर्नेछ । 


वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणलाई बचत गर्दै उत्पादनमूलक क्षेत्रमा खर्चेर दिगो आम्दानीको स्रोतका रूपमा सदुपयोग गर्ने क्षमता बढाउने अभिप्रायले बुइपामा वित्तीय साक्षरता सञ्चालन गरिएको हो ।


वित्तीय साक्षरता कक्षामा सहभागीलाई विप्रेषण सदुपयोग र व्यवस्थापनका लागि व्यावहारिक ज्ञानसहितको वित्तीय साक्षरता कक्षासम्बन्धी पाठ्यपुस्तक र दैनिक हिसाब-किताबको लेखाजोखा राख्न पासबुक वितरण गरिएको छ । 


वैदेशिक रोजगारीका क्रममा निम्तिने मानसिक समस्या हल गर्न सहभागीलाई चार साताको मनोसामाजिक परामर्श पनि प्रदान गरिएको छ ।