close

नेवार समुदायका घरघरमा यःमरी पुन्हीको रौनक

नेवार समुदायका घरघरमा यःमरी पुन्हीको रौनक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरका नेवार समुदायले बुधबार घरघरमा यःमरी पुन्ही मनाएका छन् । नेपाल भाषाका अनुसार यः भनेको मन पर्ने र मरी भनेको रोटी हो । यसलाई मन पर्ने रोटी पनि भनिन्छ ।

 

मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गर्छन् । आजको दिनलाई ज्यापु दिवस पनि भनिन्छ । तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । त्रिकोणात्मक देखिने रोटीमा माथिल्लो भाग चुच्चो र तल्लो भाग मोटो बनाइन्छ ।

 

धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसीभैलो खेलेझैँ केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । नेवार समुदायले सामान्य दिनभन्दा फरक किसिमको भोजन सेवन गर्छन् । अरू चाडपर्वभन्दा फरक रहेको यःमरी पुन्हीमा भोजको रूपमा यःमरीलाई मात्रै खाने गर्छन् ।

 

संस्कृतविद् ओम धौभडेलका अनुसार हरेक मंसिर शुल्क पूर्णिमाको दिन चाकु, तिल चामलको पिठोमा हालेर यमरी खाँदैमा यमरी पुन्ही मनाएको हँुदैन । उनले भने, ‘योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको छ । जाडोयाममा तात्तातो योमरी खाए त्यसभित्र रहेको चाकु, तिल तथा पोस्टिक आहारले शरीरमा ऊर्जा मिल्छ ।’

 

धौभडेलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, रातको समय पनि त्यत्तिकै लामो हुने उनको भनाइ छ ।

 

नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि छ । साथै, धरोहरका रूपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ । यसबाट शिल्पकारहरूले यःमरीलाई छानोको शोल्प मापन गर्ने माध्यमको रूपमा समेत लिने गरेको उनी बताउँछन् ।