close

हिउँद सकिने भयो, घर बनाउने पैसा आएन

हिउँद सकिने भयो, घर बनाउने पैसा आएन

Trulli
ADVERTISEMENT

बागलुङ- पुसको चिसो, पालमुनिको वास ! परिवारमा रहेका ३ जना कपडामा बेरिएर रात काट्छन् । माटोको मक्कल, खरको छानामा जेनतेन दैनिकी चलेकै थियो । तर, भएको घर पनि टिनको छाना फेर्ने आसले हिउँद लाग्दा नलाग्दै भत्काइयो ।


बाग्लुङको ताराखोला गाउँपालिका- १ माझखर्कका हीराबहादुर बिकको परिवार यतिबेला बिचल्लीमा छ । पक्की घर पाउने आसमा भएको घरसमेत भत्काएर हिउँद लाग्नासाथ पालमुनि सरेका बिक परिवार अहिले छट्पटीमा छन् । बाग्लुङमा संचालित जनता आवास कार्यक्रमले उनको घर बनाइदिने भनेको थियो । घर बनाउने सम्झौता गरेर प्रभु बैंकमा खाता खोलेका बिक आउँदो बर्खा नलाग्दै नयाँ घर बनाउने योजनामा थिए ।


बाग्लुङमा रहेको पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरेका बिक परिवारको घरको अहिलेसम्म लागत स्टिमेटसमेत भएको छैन । पहिलो किस्ताको रकम पाउनका लागि तत्काल पुरानो घर भत्काएर जग बसाल्नुपर्ने भनेपछि उनले भएको घर भत्काएका थिए । तर, अहिले न त गाउँपालिकाका प्राविधिक उनको घर पुगेर स्टिमेट गरिदिन्छन्, न कार्यालयका प्राविधिक नै आउँछन् । घर बनाउने योजनामा रहेको बिक परिवारले कार्यक्रमले दिने पहिलो किस्ताको रकम नै पाएको छैन । 

 

अनुदान ल्याएर बर्खाअघि नै घर बनाउने योजनामा रहेको बिक परिवारको हिउँदको चिसो र बर्खाको पानीमा पालमुनिकै वास हुने पक्का भएको छ ।


माझखर्ककै भीमबहादुर बिकको पनि अवस्था उस्तै छ । जनता आवासको घर बनाउने भनेर सूचीकृत भएका बिकले पनि पहिलो किस्ताको रकमसमेत पाएका छैनन् । ‘कहिले वडा कार्यालय, कहिले गाउँपालिकाको कार्यालय धाएको धेरै भयो, हाम्रो घरको स्टिमेट नै भएन’, बिकले भने, ‘यही हिउँदमा घर बनाई सक्ने भनेको हिउँद सकिने भयो तर घर बन्ने भएनन् ।’


जनता आवास कार्यक्रमबाट घर बनाएका जैमिनी नगरपालिका- १ कुश्मीशेराका मुक्तारुन मियाँको पनि व्यथा उस्तै छ । स्टिमेटअनुसारको सबै काम सकेर कार्यालयमा पुगेका मियाँले दोस्रो किस्ताको रकम मात्र पाए । घरको सबै संरचना बनेको भए पनि उनले अन्तिम किस्ताको रकम अझै पाएका छैनन् । ताराखोलाको बिक परिवार र जैमिनीका मियाँ परिवारको जस्तै जिल्लामा धेरैको समस्या हो जनता आवास कार्यक्रम सम्झौतापछि प्रक्रियाअनुसारको भुक्तानी नपाउने ।

 
बाग्लुङमा आर्थिक वर्ष २०७६/०७७ मा २०० घर निर्माण गर्ने योजना थियो, जसमध्ये १९० घरसँग सम्झौता भइसकेको छ । अघिल्लो आवको कार्यक्रमबाट जिम्मेवारी सरेर आएका ११ घरसमेत निर्माण गर्नुपर्नेछ । संघीय सरकारले संचालन गरिरहेको यो कार्यक्रम चालू आवमा प्रदेश सरकारले संचालन गर्ने भनिएको छ ।


कार्यालयका अनुसार, संघीय सरकारले पठाएको अनुदानमा प्रदेश सरकारले कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सम्झौता भएका घरलाई अनुदानबापत पाउने रकम उपलब्ध गराउन बजेट विनियोजनका कारण समस्या रहेको कार्यालय प्रमुख सोभियत खड्काले बताए । 


‘यस वर्षका लागि मात्र सबै घरले किस्ताको रकम पाउन ४ करोड रुपैयाँ चाहिन्छ तर हामीलाई अख्तियारी ६९ लाखको मात्र आयो’, खड्काले भने, ‘त्यही रकम बाँडेर बनिसकेर छाना हाल्न बाँकी घरलाई प्राथमिकतामा राख्यौँ, बाँकी प्रक्रियामै छन् ।’


तालुक निकायलाई पटकपटक बजेट माग गरेको भए पनि अख्तियारी नआउँदा समस्या भएको उनले सुनाए । ‘समस्या एक–दुई घरको होइन, सबैलाई मार परेको छ’, खड्का भन्छन्, ‘हामीले रोकेको होइन, मााथिबाटै आएको छैन ।’ 


अहिले निर्माण चलिरहेका घरहरू सम्पन्न गर्न झण्डै ११ करोड रुपैयाा खर्च हुन्छ । चालू वर्षका लागि मात्र आवश्यक हुने रकमसमेत नआउँदा समस्या भएको उनको गुनासो छ ।


कार्यक्रमअन्तर्गत लाभग्राहीलाई ३ लाख ३२ हजार ५०० रुपैयाँ ४ किस्तामा भुक्तानी गरिन्छ । घर निर्माणका विभिन्न चरण पूरा गरेपछि पहिलो किस्तामा ८३ हजार १२५ रुपैयाँ, दोस्रो किस्तामा ९९ हजार ७५० रुपैयाँ, तेस्रो किस्तामा १ लाख १६ हजार ३७५ रुपैयाँ र चौथो किस्तामा ३३ हजार २५० रुपैयाँ भुक्तानी हुने गरेको छ ।


बाग्लुङमा जनता आवास कार्यक्रम २०७३÷०७४ देखि सुरु भएको हो । पहिलो चरणमा सम्झौता भएका ८३ घर र दोस्रो चरणमा सम्झौता भएका १०७ घरमध्ये बाँकी सबै घर निर्माण सम्पन्न भएका छन् । गरिब, दलित, अल्पसंख्यक र विपन्नलाई घर दिने उद्देश्यले सरकारले सुरु गरेको कार्यक्रममार्फत जिल्लाभर १७९ घर निर्माण सम्पन्न भएका छन् ।