close

राप्तीमा माघी मिलन कार्यक्रम 

राप्तीमा माघी मिलन कार्यक्रम 

Trulli
ADVERTISEMENT

दाङ- राप्ती गाउँपालिकामा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।


हिन्दुहरूको महान् पर्व माघे संक्रान्ति तथा थारू समुदायमा मनाइने माघी पर्वको अवसरमा गाउँपालिका कार्यालयका तर्फबाट सम्पूर्णमा शुभकामना प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।


राप्ती गाउँपालिका वडा नं.- ७ तथा सुगन्ध युवा क्लबले व्यवस्थापन गरेको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा थारू संस्कृति झल्कने नाच, गीत, खानाका परिकार प्रस्तुत गरिएको थियो ।


सामाजिक विकास समिति संयोजक एवं वडा नं.- ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय कलाकारहरूले थारू गीत-संगीतसमेत प्रस्तुत गरेका थिए ।


स्थानीय गीत-संगीतको संरक्षण तथा कला, संस्कृतिको विकास गर्दै आगामी पुस्तामा संस्कार हस्तान्तरण गर्नका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रममा पुराना थारू संस्कृति झल्किने वेशभुषा तथा गीत-संगीत प्रस्तुत गरिएको थियो ।


बड्का नाच, झुम्रा नाच, लट्ठीहवा नाच, धमार गीत, सोगिँया गीत प्रस्तुत गर्दै माघ महिनाको सांस्कृतिक महत्त्व तथा थारू संस्कार र सभ्यता झल्किने प्रस्तुति देखाइएको थियो ।