close

हलेसी तुवाचुङमा कोरोनाका कारण बन्द खेलकुद प्रशिक्षण सुचारु

हलेसी तुवाचुङमा कोरोनाका कारण बन्द खेलकुद प्रशिक्षण सुचारु

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कोरोनाका कारण बन्द खेलकुद प्रशिक्षण सुचारु गराइएको छ । कोरोनाका कारण नगरपालिकामा झण्डै ९ महिनादेखि बन्द रहेको सितेरियो कराते र फुटबलको प्रशिक्षण सुचारु गराइएको हो । 


कोरोना कहरका कारण गत ५ चैतदेखि बन्द रहेको सितेरियो कराते र फुटबलको प्रशिक्षण १ पुसदेखि सुचारु गराइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । जिल्लामा क्रमशः कोरोना संक्रमित भेटिन छाडेको तथा कोरोना महामारीको असर कम हुँदै गएको भन्दै नगरपालिकाले अवरुद्ध खेलकुद प्रशिक्षणलाई सुचारु गराएको हो ।

 
विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्दै विभिन्न विद्याका क्षमतावान् र योग्य खेलाडी उत्पादनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि प्रशिक्षक नियुक्ति गरेर फुटबल र सितेरियो करातेको प्रशिक्षण सुरु गरेको थियो ।

 

नगरपालिकाले नियुक्ति गरेको प्रशिक्षकले हलेसी तुवाचुङ नगरपालिका- ५ दुर्छिमस्थित दुर्छिम मावि र हलेसी तुवाचुङ नगरपालिका- ७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा सितेरियो कराते तथा हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारमा फुटबलको प्रशिक्षण कक्षा संचालन गरिरहेको छ ।

 

दुर्छिममा ७० जना र महादेवस्थानमा ४५ जनाले सितेरियो करातेको प्रशिक्षण लिइरहेका छन् । यस्तै, च्यास्मीटारमा ३५ जनाले फुटबलको प्रशिक्षण लिइरहेको नगरपालिकाले जनाएको छ ।


फुटबल र करातेको व्यावसायिक विकासका लागि नगरपालिकाले फुटबल प्रशिक्षकमा सागर राई र सितेरियो करातेको प्रशिक्षकमा मिलन कसजूलाई नियुक्त गरेको छ । खेल प्रशिक्षक नियुक्त गरेसँगै नगरपालिकामा १० माघ २०७६ देखि खेल प्रशिक्षण सुरु गरिएको हो । 


नगरपालिकाभित्र खेल क्षमता भएका प्रतिभाको पहिचान गर्दै क्षमता अभिवृद्धिका लागि नगरपालिकाले फुटबल र सितेरियो करातेका खेलाडीको प्रशिक्षक नियुक्त गरेको नगरप्रमुख राईले बताए ।

 

विभिन्न खेलकुदसम्बन्धी प्रतियोगितामा जिल्ला वा नगरपालिकाको प्रतिनिधित्व गराउने क्रममा अन्यत्रबाट खेलाडी जम्मा गरेर पठाउनुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकामै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल प्रशिक्षणको व्यवस्था गरिएको हो । 

 

हाल स्थानीय तह, वडा वा संघसंस्थाले विभिन्न ठाउँबाट खेलाडी जम्मा गरेर प्रतियोगीतामा सहभागी गराउने गरेका छन् । ‘खेलकुदको व्यावसायिक विकास गर्ने हो र खेलाडी उत्पादन गर्ने हो भने सानै उमेरदेखि प्रशिक्षणको आवश्यकता हुन्छ’, प्रमुख राईले भने, ‘त्यही तथ्यलाई ध्यानमा राखेर आफ्नै प्रशिक्षक नियुक्त गरिएको हो । प्रतियोगितामा सहभागी गराउने बेला अन्यत्रबाट खेलाडी खोजेर ल्याउनु नपरोस्, आफ्नै खेलाडी होस् भन्ने चाहना हो ।’

 
नगरपालिकाले फुटबल प्रशिक्षकका हकमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित राष्ट्रिय निर्णायक परीक्षामा उत्तीर्ण गरेको तथा करातेको हकमा थ्री-डान गरेको र नेपाल कराते महासंघले आयोजना गरेको राष्ट्रिय निर्णायक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकेको थियो । 


प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अफिसियल खेल प्रतियोगितामा सहभागी भएको तथा पदक जितेको, क्षेत्रीय तथा राष्ट्रिय खेल प्रतियोगितामा उत्कृष्ट निर्णायकको भूमीका निर्वाह गरेको, खेल विज्ञान वा शारीरिक शिक्षा विषयमा स्नातक उत्तीर्ण गरी १० महिने वा सोभन्दा बढी अवधिको खेलकुदसम्बन्धी प्रशिक्षण प्राप्त गरेको लगायतका योग्यताको आधारमा खेल प्रशिक्षक नियुक्त गरिएको नगरपालिकाले जनाएको छ ।