close

बिर्सिदै छन् पीडा, ठडिँदै छ सम्पदा

बिर्सिदै छन् पीडा, ठडिँदै छ सम्पदा

Trulli
ADVERTISEMENT

भक्तपुर- १२ वैशाख २०७२ । त्यो दिन सम्झिँदा उपत्यकाबासी सबैको मन अहिले पनि काँप्न थाल्छ । त्यस दिनले मानिसको मन मात्रै होइन, भौतिक सम्पदासमेत नामेट भए ।

 

व्यक्तिका निजी आवाससँगै सार्वजनिक भवन पनि क्षतविक्षत हुन पुगे । त्यसमा भक्तपुर दरबार क्षेत्रका संरचनामा ठूलो क्षति पुग्यो ।

 

भूकम्पले ढलेका ती संरचना पुनर्निर्माणको जिम्मा सरकारले लियो । सरकारले ५ वर्षको लक्ष्यसहित पुनर्निर्माण कार्य पुरातत्त्व विभागलाई थमाइदियो । सोहीबमोजिम काम हुन थाल्यो । 

 

भक्तपुरका संरचना पुनर्निर्माणको जिम्मा विभागले मात्रै नभई स्थानीय सरकारले समेत लियो । सोहीअनुसार केही पुरातत्त्व विभाग, केही भक्तपुर नगरपालिका र स्थानीयको सहभागितमा हुँदै आएको छ । 

 

यसरी उठ्दै छन् संरचना

 

भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माण जिम्मा पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाबाट हुँदै आएको छ । 

 

विभागले ठेकेदार कम्पनीको मातहतमा बसेर काम गर्दै आएको छ भने नगरपालिकाले उपभोक्ता समिति र अमानत (नगरपालिकाको जिम्मेवारी) मार्फत गर्दै आएको छ ।

 

ठेकेदार प्रणालीमा विभागले विभिन्न निजी कम्पनीसँग सहकार्य गरेको छ । यसमा फसिदेग, वत्साला मन्दिरलगायतका संरचना छन् ।

 

यसैगरी नगरपालिकाले नगरको पुरानो भवन, त्रिविक्रम संरचनालगायत पुनर्निर्माण गर्दै आएको योजना तथा सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले बताए । 

 

५ वर्षको लक्ष्य

 

सरकारले मुलुकभरको सम्पदा पुनर्निर्माण सम्पन्न गर्न ५ वर्षको लक्ष्य लिएको थियो । पुस मसान्तसँगै उक्त समय पनि सकिएको छ । ५ वर्षमा झन्डै ६० प्रतिशत कार्य सकिएको विभागले जनाएको छ ।

 

विभागका अनुसार ५ वर्षमा ६० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ भने ४० प्रतिशत बाँकी छ । केही सम्पदा पुनर्निर्माण जारी हुँदा कुनैमा काम सुरुसमेत भएको छैन ।
 

केही अमूर्त सम्पदाको पनि पुनर्निर्माण गर्नुपर्ने सम्पदा शाखाले जनाएको छ । सम्पदा शाखा प्रमुख श्रेष्ठका अनुसार स्थानीय तथा वडा कार्यालयले स्थानीय क्षेत्र सम्पदाको अध्ययन गरी पठाउने गरेका छन् ।

 

त्यस्ता संरचनाको पुनर्निर्माण हुन बाँकी रहेको हो । त्यसका अलावा सम्पदा क्षेत्रमा रहेको पुरानो नगरपालिका भवन पनि पुनर्निर्माण गर्न बाँकी छ ।

 

किन भयो ढिलाइ 

 

मौलिक शैलीमा पुनर्निर्माण गर्नुपर्ने र आवश्यक कच्चा पदार्थ अभाव भएकाले पुनर्निर्माणमा ढिलाइ भएको सरोकारवाला बताउँछन् ।

 

पुरातत्त्व विभागका अधिकृत मोहनसिंह लामाका अनुसार मौलिक शैलीमा पुनर्निर्माण गर्नुपर्ने भएकाले आवश्यक काष्ठकला, दाची अपालगायतको अभाव हुँदा ढिलाइ भएको हो । 


‘सरकारसँग सम्पदाको फोटोसमेत छैन । हामीसँग अभिलेख नभएकाले पनि ढिलाइ भएको हो’, उनले भने, ‘सम्पदाबारे स्थानीयसँगको समन्वयमा काम गर्दै आएका छौँ ।’ 


दक्ष जनशक्ति अभावका कारण पुनर्निर्माण ढिलाइ भएको नगरपालिकाले जनाएको छ । सम्पदा शाखा प्रमुख श्रेष्ठका अनुसार थौरै संख्यामा विज्ञ छन् । भएका पनि अरू जिल्ला गएकाले ढिलाइ भएको हो । 

 

कहिले सम्पन्न हुन्छ पुर्निर्नर्माण ?


सुरुको २ वर्ष सामान अभावका कारण पुनर्निर्माणमा ढिलाइ भयो । अब आवश्यक सामग्री आएकाले पुनर्निर्माण चाँडै हुने दाबी ठेकेदार कम्पनीको छ ।

 
सानु सुुवाल निर्माण सेवा प्रालिका सानु सुवालका अनुसार आगामी १ वर्षमा निर्माण सम्पन्न हुनेछ । उनले भने, ‘काठ, ढुंगा आइसकेका छन् । काम धमाधम भइरहेको छ । आगामी ९ महिनामा पुनर्निर्माण सकिनेछ ।’ 

 

पुरातत्त्व विभागले पुनर्निर्माण कहिले सक्ने कुनै टुंगो नरहेको उल्लेख गर्दै आएको छ । यस्तै अवस्था रहे सरकारको ५ वर्षको लक्ष्य पूरा हुन सम्भव नदेखिएको विभागका अधिकृत लामा सुनाउँछन् । 

 

उनले भने, ‘पुनर्निर्माण कहिले पूरा हुन सक्छ, थाहा छैन । यस्तै अवस्था रहे पुनर्निर्माण लामो समयसम्म चल्न सक्छ ।’