close

५० लाख मान्छेको पिसाबबाट ३ करोड ६० लाख किलो अन्न !

५० लाख मान्छेको पिसाबबाट ३ करोड ६० लाख किलो अन्न !

Trulli
ADVERTISEMENT

खोटाङ- कृषिविज्ञ मदन राईले ५० लाख मान्छेको पिसाबलाई मलको रूपमा प्रयोग गर्न सके वार्षिक ३ करोड ६० लाख केजी अन्न उत्पादन गर्न सकिने बताएका छन् ।

 

कृषिविज्ञ राईले हाल काठमाडौं उपत्यकाको ५० लाख जनसंख्याबाट दैनिक सरदर ५० देखि ७० लाख लिटरका दरले उत्सर्जन हुने पिसाबलाई मलका रूपमा प्रयोग गर्न सके १८ लाख रोपनी जग्गालाई ढाक्ने र प्रतिरोपनी २ सय केजी अन्न उत्पादन हुँदा पनि वार्षिक ३ करोड ६० लाख अन्न उत्पादन गर्न सकिने ठोकुवा गरे । 


५० लाख जनसंख्याको पिसाब पखाल्न मात्र दैनिक करिब १० करोड लिटर पानी प्रयोग भइरहेको बताउँदै कृषिविज्ञ राईले सामाजिक सञ्जालमार्फत पिसाबलाई मलका रूपमा प्रयोग गर्ने विधि अपनाउन सके उपत्यकामा भइरहेको खानेपानी हाहाकार कम गर्न टेवा पुग्ने सुझाव दिए ।

 

‘काठमाडौं खाल्डोमा झन्डै ५० लाख मानिसबाट दिनमा सरदर ७ पटक पिसाब गर्दा कम्तीमा ५० र बढीमा ७० लाख लिटर पिसाब उत्सर्जन हुन्छ । यो भनेको कम्तीमा ५ हजार टन अर्थात् ५ सय ट्यांकर पिसाब हो । यत्तिका पिसाबले ५ हजार रोपनी जमिनलाई अर्गानिक मल पुग्छ । यो ५ हजार टन पिसाबमा २५ हजार केजी नाइट्रोजन अर्थात् ५५ हजार केजी युरिया बराबर अर्गानिक मल पाइन्छ,’ कृषिविज्ञ राईले लेखेका छन् ।

 

१ दिन बराबरको पिसाबले ५ हजार रोपनी खेतीलाई अर्गानिक मल प्राप्त हुन्छ भने ३ १ वर्षको २ करोडभन्दा बढी केजीको मलले १८ लाख रोपनी ढाक्न सक्छ । १ रोपनीमा २ सय केजी मात्र अन्न उब्जनी भयो भने १८ लाख रोपनीमा ३ करोड ६० लाख केजी अन्न प्राप्त हुने सुझाव राईले दिएका छन् । 


पिसाब पखाल्न प्रयोग गरिँदा पनि उपत्यकामा खानेपानी हाहाकार हुन बल पुगेको विषयलाई धेरैले बुझ्न नसकेको कृषिविज्ञ राईको तर्क छ । 

 

पिसाबलाई संकलन गरेर मलका रूपमा प्रयोग गर्ने उपाय नअपनाउँदा एकै दिन १० करोड लिटर पानी पिसाब पखाल्नमै सकिने गरेको उनको बुझाइ छ । राईले पिसाबको उचित व्यवस्थापन अभावका कारण पनि बागमतीमा फोहोरमैला बढेको बताएका छन् । 

 

पिसाबलाई मलका रूपमा उपयोग गर्न सके यूरिया मलको हाहाकार भयो भनिरहन नपर्ने उनले उल्लेख गरेका छन् । ‘५० लाख मान्छेले दैनिक ७ पटक पिसाब फेर्दा काठ्माडौंमा एकै दिन करिब १० करोड लिटर पानी पिसाब पखाल्नमा सकिन्छ,’ उनले लेखेका छन्, ‘पानी र र युरिया मलको हाहाकार मच्याउनेले बागमतीमा झनै ठूलो हाहाकार मच्याएको बुझेका छैनौँ ।’ 


कृषिविज्ञ राईको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा सञ्चालित शुभम (शुभद्रा-मदन) फाउन्डेसनले समेत मानव मलमूत्रलाई पुनप्र्रयोगमा ल्याउने अभ्यास गरिरहेको छ । 

 

फाउन्डेसनका आवासीय शिक्षक÷विद्यार्थीको मलमूत्रलाई संकलन गरेर तरकारीलगायतका कृषिजन्य उत्पादनमा कम्पोस्ट मलका रूपमा उपयोग गर्ने गरिएको छ । विद्यार्थीलाई ‘कुटोदेखि कम्प्युटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यासमा सहभागी गराउँदै आएका कृषिविज्ञ राई वातावरण शिक्षाअन्तर्गत मानव मलमूत्रलाई उपयोग गरेर कृषि उत्पादन बढाउनुपर्छ भन्ने अभियन्ता पनि हुन् ।