close

माटोको छानामुक्त गाउँ बनाउने अभियानमा पातारासी

माटोको छानामुक्त गाउँ बनाउने अभियानमा पातारासी

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकालाई माटोको छानामुक्त गाउँ बनाउने अभियान सुरु भएको छ । माटोको छानामुक्त गाउँपालिका बनाउन ७ वटै वडाका ६५ परिवार छनोट गरिएको हो ।

 
आर्थिक अवस्था कमजोर भएका परिवारको छनोट गरी घरमा माटोको छाना हटाउन कर्णाली प्रदेश सरकारलाई तथ्यांक पठाइएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।


प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि गरिब तथा विपन्न नागरिकको घर माटोको छानामुक्त गर्न स्थानीय सरकारले काम थाल्ने उनले जानकारी दिए । ‘माटोको छानोको ठाउँमा जस्तापाता राखेर टल्काइनेछ’, उनले भने ।

 
गाउँपालिका अध्यक्ष लछिमान बोहराका अनुसार उक्त अभियान ७ वटै वडामा विस्तार गरिनेछ । संघीय, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा अभियान सञ्चालन गरिएको हो । पछिल्लो समय गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए । 


पातारासीमा १५ लघुजलविद्युत् आयोजना निर्माण भएपछि बिजुली उत्पादनमा समेत गाउँपालिका आत्मनिर्भर बनेको छ । १५ देखि १ सय किलोवाटसम्मका आयोजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । ‘वर्षौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीय अहिले बिजुलीको पहुँचमा पुगेका छन्’, गाउँपालिका अध्यक्ष बोहराले भने ।


पातारासीमा ५८ किलोवाट क्षमताको बिउरेनी लघुविद्युत् आयोजना, २५ किलोवाटको लुम, तल्फी, त्रिवेणी र लोर्पा, १२ किलोवाटको पटमारा, ९ किलोवाटको रिनी र लाम्री, ६ किलोवाटको महरी तथा ५ किलोवाटको तली लोर्पा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् ।

 

पातरासीमा हालसम्म २ सय ५० किलोवाटभन्दा बढी बिजुली उत्पादन भएको छ । हाल पातारासीका १७ हजार नागरिकले बिजुली बाल्न पाएको गाउँपालिकाले जनाएको छ । 

 

‘साढे ३ वर्षभित्र गाउँपालिकाभरि घरघरमा बिजुली पुर्‍याउँछौँ,’ अध्यक्ष बोहराले भने । बिजुली कर्मचारीको पारिश्रमिक र मेसिन मर्मत खर्च गाउँपालिकाले नै बेहोर्दै आएको पालिकाकी उपाध्यक्ष पुन्नकली महतराले बताइन् ।