close

अभाव टार्न विद्यार्थीको रक्त समूह पहिचानमा जुट्यो रुपाकोट (भिडियाे खबर)

अभाव टार्न विद्यार्थीको रक्त समूह पहिचानमा जुट्यो रुपाकोट (भिडियाे खबर)

ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यार्थीको रक्त समूह पहिचान अभियान सुरु गरेको छ । कुनै पनि विद्यार्थीलाई दुर्घटना वा गम्भीर चोट लागेको अवस्थामा तत्काल रगत उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले रक्त सञ्चार केन्द्र दिक्तेलसँगको सहकार्यमा छात्रछात्राको रक्त समूह पहिचान अभियान थालेको हो ।


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा दिक्तेलको पञ्च माविबाट विद्यार्थीको रक्त समूह पहिचान अभियान सुरु गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले विद्यार्थीको रक्त समूह पहिचान अभियान शुभारम्भ गरे ।

 

विद्यार्थीको रक्त समूह पहिचानको काम १५ वटै वडाका ९४ वटा सामुदायिक र ११ वटा संस्थागत विद्यालयमा गरिने नगरप्रमुख रिजालले बताए । 


विद्यार्थीको रक्त समूह पहिचान गर्दै आगामी शैक्षिक सत्रदेखि हरेक विद्यार्थीलाई रक्त समूह उल्लेख भएको परिचयपत्र प्रदान गर्ने गरी नगरपालिकाले अभियान थालेको हो । कुनै पनि विद्यार्थी दुर्घटनामा परेका बेला रक्त समूह पहिचान गरिरहनुपर्ने झन्झट हल गर्दै तत्काल समूह मिल्ने रगत उपलब्ध गराएर जीवन रक्षा गर्ने लक्ष्यका साथ रक्त समूह पहिचान सुरु गरिएको नगरप्रमुख रिजालले जानकारी दिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाल प्रहरीका डीएसपी नारायणप्रसाद चिमरिया र सशस्त्र प्रहरीका डीएसपी सरोज कार्कीको पनि रक्त समूह पहिचान गरिएको छ । दुर्घटनामा परेका बेला विद्यार्थीको जीवन बचाउन र रक्त दान गर्न उत्प्रेरित गर्न रक्त समूह पहिचान अभियान फलदायी हुने पञ्च माविका शिक्षक लक्ष्मीप्रसाद खनालको दाबी छ । 

 

अभियानका क्रममा नगरपालिकाभित्रका करिव साढे ८ हजार विद्यार्थीको रक्त समूह पहिचान गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । यससँगै शिक्षक-शिक्षिकाको समेत रक्त समुह पहिचान गरिनेछ ।