close

बिजुली चोरको सुविधा रोक्का 

बिजुली चोरको सुविधा रोक्का 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- काठको पोलमुक्त घोषणा नजिक पुगेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका सुरक्षित विद्युतीकरण अभियानमा जुटेको छ । गाउँपालिका क्षेत्रमा अवैध रूपले विद्युत् चोरी हुने गरेकाले मिटर जडान र काठको पोल हटाउँदै सुरक्षित विद्युतीकरण अभियान सुरु गरिएको हो ।


विद्युत् चोरी गरेको पाइए गाउँपालिकाबाट दिइने सेवा-सुविधा रोक्का गरिने भएको छ । गाउँपालिकाका विभिन्न स्थानमा विद्युत् चोरीको समस्या भएकाले त्यस्तो पाइए सुविधा नदिने वा रोक्का गरिने भएको हो ।

 

अभियानमा इन्द्रावतीलाई नेपाल विद्युत् प्राधिकरण, हेलम्बु मेलम्ची वितरण केन्द्रले सघाउने भएका छन् । गाउँपालिका र केन्द्रबीच विद्युत् विस्तारका साथै चोरी नियन्त्रण गरिने सहमति भएको छ ।

 

गाउँपालिका अध्यक्ष वंशलाल तामाङ र हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेसहितको बैठकमा यस्तो सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलले जानकारी दिए । 

 

करिब २९ हजार जनसंख्याको इन्द्रावतीमा ८ हजार ५ सय ८४ घरधुरी छन् । गाउँपालिका क्षेत्रका केही घरमा अझै विद्युत् मिटर जडान गरिएको छैन । मिटर नभएकै कारण विद्युत् चोरी बढेकाले सबै घरधुरीमा सुरक्षित विद्युतीकरण अभियानमा गाउँपालिका लागेको हो ।

 

स्थानीय तहको संरचना आएपछि २ हजारभन्दा बढी काठको पोल झिकेर स्टिल पोल राखिएको गाउँपालिका अध्यक्ष तामाङले बताए । उनका अनुसार गाउँपालिकालाई अब छिट्ट काठको पोलमुक्त क्षेत्र घोषणा गरिँदै छ ।

 

करिब ५ प्रतिशत मात्रै काठको पोल बाँकी रहेको र त्यो चाँडै परिवर्तन गरिने उनले जानकारी दिए ।


सहमतिपत्रमा गाउँपालिका वडा नम्बर ४ देखि १२ सम्मका एचटी तथा एलटी लाइनमा जीर्ण काठे पोल भएकाले सम्भावित दुर्घटना हुने हुँदा गाउँपालिकाको समन्वयमा छिट्टै काठको पोल मुक्त गराउने निर्णय भएको छ । 


विद्युत् चुहावट नियन्त्रणमा विद्युत् मिटर जडान गर्न नसक्ने गरिब परिवारका लागि वडा कार्यालयको सिफारिसमा विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रबाट निःशुल्क मिटर उपलब्ध गराइने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

 

मिटर जडान गर्न नसक्ने परिवारसमेत भएकाले विद्युत् चोरी बढेको हो । यस्ता परिवारलाई निःशुल्क मिटर जडान गरिएपछि विद्युत् चोरी शून्यमा झर्ने गाउँपालिकाको विश्वास छ ।