close

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु (भिडियाे खबर)

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु (भिडियाे खबर)

ADVERTISEMENT

नवलपुर- नवलपुरको कावासोती नगरपालिकाले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु गरेको छ ।  नगरपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा वितरण गर्न लगत संकलन सुरु गरिएको हो । 

 

अहिले कावासोतीका ६ हजार बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी आफूले वर्षाैंदेखि खनजोत गर्दै आएको जग्गाको लालपुर्जा पाउने आश राख्दै नगरपालिकाले तोकेको फारम भर्न दिनभर लाइनमा बस्न थालेका छन् । 


नवलपुरको कावासोती नगरपालिकामा अहिले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकालाई लालपुर्जा उपलब्ध गराउन लगत संकलन तीव्र पारिएको छ । झन्डै ६ हजारको हाराहारी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको नवलपुरमा पुसको दोस्रो साताबाट लगत संकलन गरिएकामा अहिले अन्तिम चरणमा पुगेको छ ।


लगत संकलन १३ माघमा सम्पन्न गरी निवेदनमाथि छानबिनलगायतको प्रक्रिया सुुरु गर्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । 


नवलपुरको कावासोती नगरपालिकामा ७० वर्षदेखि जमिन खनजोत गर्दै आएका तर जग्गाधनी प्रमाण लालपुर्जा पाउन नसकेका धेरै छन् । त्यति मात्र होइन, अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी पनि छन् ।

 

वर्षैंदेखि जमिनमा खनजोत गर्दै आएका तर लालपुर्जा नपाएर कुनै व्यापार, व्यवसाय गर्न जग्गा धितो राखेर कर्जा लिन नपाएकालाई समेत यसले राहत मिल्ने आशा जगाएको कावासोती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।


पटक-पटक राष्ट्रिय स्तरका आयोग, जिल्ला स्तरका आयोग गठन भएर जग्गा भएका तर लालपुर्जा नभएकालाई लालपूर्जा दिलाउन र जग्गा नभएका सुकुम्बासीलाई जग्गासहित लालपुर्जा दिलाउन भन्दै धेरै पटक लगत संकलनको काम भए पनि परिणाम भने हात नपरेका कारण अझै जग्गाधनी लालपुर्जा हात परिहाल्छ भन्नेमा ढुक्क हुन नसक्ने अवस्था रहेको सेवाग्रही अग्निधर लुइँटेल बताउँछन् ।

 

सुकुम्बासीको नाममा नक्कली कागज गराएर हुकुम्बासीले जग्गा हड्प्ने र वास्तविक सुकुम्बासी फेरि पनि सुकुम्बासी नै रहने हो कि भन्ने आशंका पनि उत्तिकै छ ।