close

२० प्रतिशत ढोरपाटनबासीलाई अझै खोलाखोल्सीकै पानी

२० प्रतिशत ढोरपाटनबासीलाई अझै खोलाखोल्सीकै पानी

Trulli
ADVERTISEMENT

बागलुङ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्ष खानेपानीको समस्या भएका उपभोक्तालाई निवेदन पेस गरेर योजना पार्न आह्वान गर्‍यो । खोलाखोल्सीको पानी खानुपर्ने बाध्यतामा रहेका ज्याला–मजदुरी गर्ने, दलित समुदायलाई ती योजनामा प्राथमिकता पनि दिइयो ।


गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन हुने योजनामा लक्षित वर्गलाई प्राथमिकता दिए पनि बागलुङबाट निवेदन आएको थिएन । निवेदन नआएपछि डिभिजनले पनि योजना माग गर्न सकेको थिएन ।


तर, ढोरपाटन नगरपालिका वडा नम्बर ८ को नौघरटोलका झन्डै १ सय घरका बासिन्दाले खोल्साको पानी खाइरहेका थिए । आफैं समस्यामा परेको कुरासमेत बताउन नसकेपछि त्यहाँ योजना परेन ।


‘उनीहरूले खानेपानीको सास्ती खेपिरहेका थिए । योजना माग्नै कोही आएनन् । बल्ल उनीहरू समस्यामा छन् भन्ने बुझ्न पायौँ’, डिभिजन कार्यालयका सूचना अधिकारी तेजप्रसाद निउरेले भने, ‘काम विशेषले गाउँ पुगेर उनीहरूको समस्या देखेपछि लक्षित समुदायमा पुग्न सकेका रहेनछौँ भन्ने लाग्यो ।’ खानेपानी समस्या बागलुङका ग्रामीण क्षेत्र र दलित समुदायका बस्तीमा बढी रहेको उनको बुझाइ छ ।

 
डिभिजनको तथ्यांकमा अझै बागलुङको २० प्रतिशत क्षेत्रमा स्वच्छ खानेपानी पुर्‍याउन बाँकी छ । पुरानो प्रविधिबाट बनेका आयोजना मर्मत गरिरहनुपर्ने, बहुवर्षे योजनामा थोरै बजेट आएकाले समयमा नसकिने समस्या पनि उत्तिकै छ ।

 

डिभिजनमार्फत सञ्चालन हुने ठूला आयोजना, नेपाल स्वास्थ्यका लागि पानी नेवामार्फत सञ्चालन हुने मझौला योजना र प्रदेश, संघ वा स्थानीय पालिकाबाट सञ्चालन हुने योजनाबाट पनि लक्षित समुदाय छुट्ने गरेको भेटिएको हो ।


बनेका ठूला आयोजना पनि बिग्रने र नियमित मर्मत गर्नुपर्ने अवस्था हेर्दा शतप्रतिशतलाई स्वच्छ खानेपानी पुर्‍याउन कठिन हुने डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख राजेन्द्र न्यौपानेले बताए । उपभोक्ताले पनि आफ्नो समस्या समयमा देखाउन नसकेको उनको भनाइ छ ।


 ‘खानेपानीको समस्यामा परेको कुरा थाहा छ तर कहाँ गएर कसलाई बताएर काम बन्छ भन्ने थाहै छैन,’ बोबाङको नौघरटोल खानेपानी उपभोक्ता समिति अध्यक्ष झम्मर विकले भने, ‘दैनिक ज्याला, मजदुरी गरेर खानेले समय निकालेर योजना पार्ने तरिका पनि जानेका छैनौँ ।’

 
उनीहरूको समस्या देखेर नेवाले गत वर्षको योजनाबाट यहाँ खानेपानी आयोजना सञ्चालन गरेको थियो । नेवाको २६ लाख ७५ हजार रुपैयाँको सहयोग पाएपछि ढोरपाटन नगरपालिकाको ५ लाख र १० लाख श्रमदानसमेत जुटाएर ४१ लख रुपैयाँमा आयोजना निर्माण भएको विकले बताए ।


यहाँका ८३ घरमा खानेपानी पुगेको छ । अझै १ सय बढी घरमा खोलाखोल्सीको पानी खानेहरू छन् । त्यसका लागि चालू र आगामी वर्षका लागि कार्यक्रम बनाएर पानी खुवाउन पहल गरिने निउरेले जानकारी दिए ।


‘कम्तीमा माग गर्न आउने वातावरण वडा तहले बनायो भने स्थानीयले पानी खान पाउनेछन्,’ उनले भने, ‘लक्षित समुदायले हाम्रा लागि कार्यक्रम बन्दै छ भन्ने बुझ्नुपर्छ ।’


वडाध्यक्ष नन्दे सुनारका अनुसार अधिकांश दलित र विपन्न परिवारका बासिन्दा भएकाले योजना प्रक्रियाबारे जान्नसमेत नसक्नेहरू छन् । ‘गर्मी लागेपछि ढोरपाटन जाने र जाडोमा फर्कनेहरू धेरै छन्,’ उनले भने, ‘गाउँको विकासमा खट्नुपर्छ भन्ने नहुँदा पछि परेका हौँ ।’