close

भक्तपुरमा कुकुरको पनि गणना !

भक्तपुरमा कुकुरको पनि गणना !

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले घरघरमा पालेका कुकुरको संख्या संकलन गर्न थालेको छ । आफ्नो क्षेत्रभित्र कति संख्यामा कुकुर थपिएका छन् भन्ने जानकारी लिन नगरपालिकाले कुकुरको गणना सुरु गरेको हो । 

 

नगरपालिकाका अनुसार उक्त अभियानमा घरभित्र पालेका कुकुरलाई मात्रै समेटिनेछ । सडकमा छाडिएका तथा भुस्या कुकुरलाई समेटिने छैन । नगरका सबै वडामा कुकुरको संख्या गणना गर्न थालिए पनि सुरुमा वडा नम्बर ७ का स्थानीयले पालेका कुकुरबाट थालनी गरिनेछ । 

 

वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांका अनुसार कुकुरको रेकर्ड राख्न अभियानका रूपमा ६-६ जनाको दुई समूह बनाइएको छ । ‘यसले गर्दा केही गरी कुकुर बिरामी भएर वा घरमूलीले कुकुर छाडेमा थाहा पाउन सकिनेछ’, उनले भने, ‘कसैलाई टोके कुकुरधनीलाई पनि फेला पार्न सहज हुन्छ ।’ 

 

भक्तपुरका १० वटै वडामा तथ्यांक संकलन गर्ने योजना रहेको कवांले बताए । उनले भने, ‘यसपछि कुकुरलाई कसरी पाल्ने, कुकुरको फोहर कसरी व्यवस्थापन गर्ने विषयमा तालिम दिने योजना छ ।’

 

अभियानका लागि सूर्यविनायकस्थित भेट फर एयर पेट क्लिनिकको सहकार्यमा काम भइरहेको उनले जानकारी दिए ।

 

कुकुरको तथ्यांक संकलनमा जुटेका डा. पंकज खनालले केही वर्षदेखि सडकमा छाडिएका कुकुरलाई रेबिजको सुई लगाउने काम भइरहेको बताए । उनले सडकमा छाडिने कुकुर घरमा पालेर पछि मन नलागे वा अशक्त भएपछि छाड्ने गरिएको उनले सुनाए । 

 

त्यसैले यो वर्ष घरमा पालेका कुकुरको तथ्यांक संकलन गर्ने र ट्याग लगाइदिने काम सुरु गरिएको उनको भनाइ छ । तथ्यांक संकलनपछि सडकका कुकुरलाई रेबिज सुई र ट्याग लगाइदिने योजना रहेको उनले बताए ।