close

खुलामञ्च खुलाउँदै महानगर 

खुलामञ्च खुलाउँदै महानगर 

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुलामञ्च खुलाउने पहल थालेको छ । राष्ट्रिय महत्त्वको संरचना दरबार हाइस्कुल निर्माण सम्पन्न भएको र वीर अस्पताल निर्माण अन्तिम चरणमा पुगेकाले सो स्थान खाली गर्न लागिएको हो । 


खुलामञ्चमा दरबार हाइस्कुल र वीर अस्पताल बनाउँदा निर्माण सामग्री थुपारिएको थियो । कोभिड-१९ का कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाइ भएको महानगरका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । 


पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेपछि खुलामञ्च खुलाउन लागिएको महानगरले जनाएको छ । 


‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूल्ठूला सभा गर्दा पछिल्लो समय महानगर क्षेत्रभित्रको ट्राफिक आवागमनसँगै व्यापार-व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ’, ज्ञवालीले भने, ‘राष्ट्रिय महत्त्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभावी सडकमा राख्दा सडकको स्वरूप नै बिग्रिने भएकाले महानगरले असल नियतले ठाउँ उपलब्ध गराएको हो । अब ती संरचना निर्माण सम्पन्न भएको अवस्थामा खुलामञ्च खुला गर्नुको विकल्प छैन ।’ 


प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाडिने उनको भनाइ छ । भ्यूटावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रूपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गरिने ज्ञवालीले बताए । 


भ्यूटावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रूपमा सञ्चालनमा छ । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी सभा गर्ने दिन र सवारी आवागमन अस्तव्यस्त नहोस् भन्न सवारीलाई टुँडिखेल घुमाई बसपार्कसमेत खुला गर्नेसम्मको तयारी छ । 


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदनअनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएकाले थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुलाउन पहल गर्ने बताए । 


‘ठेकेदार कम्पनीले पछिल्लो पटक दिएको प्रतिवेदनअनुसार ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेका छन्,’ शाहले भने, ‘हामीले पनि ठेकेदारलाई जतिसक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ । जतिसक्दो छिटो काम सम्पन्न गरी खुलामञ्च खुलाउन उनीहरूलाई निर्देशन दिन्छु ।’

 
बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधीन अस्पतालभित्रै राखेर गर्न सकिए त्यसमा पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 


वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने, ‘पार्किङ क्षेत्र हामी एक साताभित्रै खाली गर्न तयार छौँ । मैले ठेकेदारसँग पनि छलफल गरिसकेको छु । कोभिड-१९, बजेट निकासामा भएको ढिलाइलगायतले समयमा काम सम्पन्न हुन नसक्दा केही ढिलाइ भएको हो ।’


काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि वीर अस्पताल र दरबार हाइस्कुल प्रशासनसँग निरन्तर छलफलमा रहेकाले जतिसक्दो छिटो खुलामञ्च खुला गर्ने तयारीमा रहेको बताए ।