close

बाग्लुङ क्याम्पमा भूपू सैनिककाे ओइराे: पेन्सनरको नवीकरण र रुजु गरिँदै

बाग्लुङ क्याम्पमा भूपू सैनिककाे ओइराे: पेन्सनरको नवीकरण र रुजु गरिँदै

Trulli
ADVERTISEMENT

बाग्लुङ- बागलुङमा पेन्सन क्याम्प सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको क्याम्प १ वर्षपछि सोमबारदेखि केही दिनका लागि सुरु भएको हो । 

 

यस पटकको क्याम्पमा भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपू सैनिकको उल्लेख्य उपस्थिति छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प १ वर्षको अन्तरालमा चलेको हो ।

 

‘कोभिड महामारीका कारण अघिल्लो पटक क्याम्प बस्न सकेन,’ भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल सशान्त त्रिपाठीले भने, ‘भूपू सैनिकहरूको संख्या अद्यावधिकका लागि यस पटक क्याम्प सञ्चालन गर्ने निधोमा पुगेका हौँ ।’ 


केही वर्ष पहिले क्याम्पबाट भूतपूर्वहरूले पैसै बोकेर जान्थे तर अहिले भने आफू जिउँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सनपट्टा दाखिलाको काम भइरहेको छ ।

 

‘कोरोना महामारी भनेर हामीले ६ महिनामा हुने क्याम्प रोकेका थियौँ । अहिले सडकभरि मान्छे भएपछि क्याम्प रोक्नुपर्ने देखिएन,’ त्रिपाठीले भने, ‘यो नियमित प्रक्रिया हो ।’

 

लामो समयपछि क्याम्प चलेकाले अधिकांश भूतपूर्व सैनिक भेला भएका छन् । बागलुङ नगरपालिकाको वडा नम्बर ३ गुठीमा भूपूहरूको भीड लागिरहेको छ । 


एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरूको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरूको चाप भए पनि आर्थिक चाप छैन् ।

 

१० फागुनबाट सुरु भएको क्याम्प १४ फागुनसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी गोपालसिंह थापाले जानकारी दिए ।

 

सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट करिब ८० करोड रुपैयाँ वितरण हुन्थ्यो तर गत वर्षदेखि भने बैंक खातामै रकम जम्मा हुने भएकाले रकम वितरण क्याम्पमा हुने छैन । सैनिक बोर्डका अनुसार साविकको धौलागिरि अञ्चलमा ८ हजारभन्दा धेरै पेन्सनर छन् । 


भारतीय सेना र भारतका विभिन्न संघ-संस्थाबाट अवकाश प्राप्त भूपूलाई पेन्सन दिन हरेक वर्ष नवीकरण गरिने गरेको छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनर भने लाइन लाग्ने गरेका छन् ।

 

‘हरेक अंग्रेजी महिनाको अन्तिम दिन पेन्सन खातामा आउँछ,’ थापाले भने, ‘खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।’ पेन्सन खातामा जम्मा भएको रकममा ब्याज प्राप्त हुने भए पनि पेन्सनरले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको बुझाइ छ ।


बागलुङमा क्याम्प बस्ने बेला नवीकरण नभए पोखरा पुग्नुपर्ने भएकाले पनि धेरै भीड हुने गरेको त्रिपाठी बताउँछन् । ‘विशेषगरी पेन्सनरको मृत्यु भयो र तिनको श्रीमतीको नाममा नामसारी गर्नुपर्ने भए क्याम्पले सहयोग गर्छ,’ उनले भने, ‘कागजी सबै काम हामी मिलाउँछौँ । पेन्सन सबैको खातामै जम्मा हुने व्यवस्था छ ।’