close

अनपेक्षित गर्भको सुरक्षित पतन

अनपेक्षित गर्भको सुरक्षित पतन

Trulli
ADVERTISEMENT

बागलुङ- ‘३ पटक भइसक्यो । छोराछोरी ठूला भए, हजुरले भनेकै मान्नुहुन्न । डाक्टरले भन्नुभएको समय पुगिसकेको छ,’ पंक्तिकार धौलागिरी अस्पताल परिसरमा पुग्दा अन्दाजी ३२/३३ वर्षकी महिला मोबाइलबाट भन्दै थिइन्, ‘पछि केही भइहाल्यो भने के गर्नू ? अब त राम्ररी सोच्नुपर्‍यो ।’ 

 

समस्या सोधखोज गर्दा थाहा लाग्थ्यो, ती महिला चौथो पटक गर्भपतनका लागि अस्पताल आएकी थिइन् । भिडियो एक्सरे गरेपछि उनलाई थाहा भयो, महिनावारी रोकिएको १२ साताभन्दा धेरै भइसकेको रहेछ । पेटमा भएको गर्भलाई जन्म दिँदा सन्तानको रहर पुगिसकेको अवस्था । सुरक्षित हिसाबले गर्भपतन गर्न पनि समयावधि सकियो ।


समस्यामा रहेकी उनले चिकित्सकको सल्लाह लिँदै थिइन् । धौलागिरी अस्पतालमा दैनिक ४० जनाभन्दा धेरैको भिडियो एक्सरे हुन्छ । सातामा २/३ जना गर्भवती गर्भपतनकै लागि अस्पताल पुग्ने गरेका छन् । 

 

‘लामो समय औषधी प्रयोग गरेर यहाँ आउनुहुन्छ । भिडियो एक्सरे गरेर गर्भपतनका लागि आएको भन्नेहरू धेरै छन्’, धौलागिरी अस्पतालको रेडियोलोली विभागका प्रमुख डा. अजय पोखरेलले भने, ‘अन्तिम अवस्थामा आउनेमा जोखिम देखिन्छ ।’ 

 

सरकारले गर्भपतनलाई वैधानिक मान्यता दिएपछि बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ । 

 

गाउँ-गाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सख्या थप बढेको हो । जिल्लाभर ५ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छ ।

 
तीमध्ये सदरमुकामस्थित धौलागिरी अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेको छ । सदरमुकाम र जिल्लाको सुदूरपश्चिममा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै अनिच्छित गर्भ रहेका महिला गर्भपतनका लागि पुग्ने गरेका छन् ।

 

‘वैधानिक मान्यता पाएको विषयलाई नकार्न सकिन्न । सन्तानको इच्छा नहुँदा नहुँदै रहेको गर्भ फाल्दा फरक पर्दैन,’ अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. केशव आचार्य भन्छन्, ‘हाम्रो समाजले नमानेको तर मेडिकल्ली सुरक्षित हुने विवाहपूर्वका गर्भवतीको संख्या पनि धेरै छ ।’ 


चालू आर्थिक वर्षको हालसम्म धौलागिरी अस्पतालमा १ सय ६५ महिलाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । तीमध्ये केही अविवाहित किशोरीसमेत छन् । 

 

‘सुरक्षित गर्भपतन अधिकार हो । सामाजिक मान्यताले के भन्ला भनेर असुरक्षित गर्भपतन गराउनु जोखिम हुन्छ,’ डा. आचार्य भन्छन्, ‘गोपनीयता कायम हुने भएकाले अनिक्षित गर्भ रहँदा हुने जोखिमभन्दा सुरक्षित गर्भपतन राम्रो हुन्छ ।’ 

 

अस्पतालका नर्सिङ निरीक्षक मिलन बडुवालले कोरोना महामारी फैलिनुभन्दा पहिले हरेक महिना ५० महिला गर्भपतनका लागि आउने गरे पनि पछिल्लो समय ३०/३५ जना मात्र आउने गरेको बताइन् । 

 

गत वर्ष अस्पतालबाट ६ सय महिलाले गर्भपतन गराएका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चालू वर्षको हालसम्म ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएको डा. मिलन मल्लले जानकारी दिए ।

 

१२ सातासम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्योभन्दा माथिका लागि धौलागिरी अस्पताल बागलुङमा रिफर गर्ने गरेको उनले बताए । 


‘गर्भपतन गराउन आउने महिलाको सम्पूर्ण स्वास्थ्य जाँच गरी पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्ययन गरेर मात्र गर्भपतन गराउने गरिएको छ’, उनले भने ।

 

गर्भपतन गराउनेको परिचय सुरक्षित रहने भएकाले पनि इच्छाविपरीतको गर्भपतन गर्न आउनेको संख्या बढ्दै गएको हो । पछिल्लो समय शिक्षाको पहुँच र जनचेतनाले गर्दा सन्तानको रहर पुगेका तर स्थायी बन्ध्याकरण नगराएका दम्पती गर्भपतनका लागि धेरै आउने गरेका छन् ।