close

जातीय विभेदको पराकाष्ठाः सम्मान मिल्यो तर मिलेन न्याय

जातीय विभेदको पराकाष्ठाः सम्मान मिल्यो तर मिलेन न्याय

Trulli
ADVERTISEMENT

खोटाङ– राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक वहिष्करणमा पारिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका ७७ वर्षीय टंकप्रसाद आचार्यलाई न्याय र सुरक्षा प्रत्याभूति दिलाउन प्रशासन र स्थानीय सरकारलाई आग्रह गरेको छ ।


छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले १८ जेठ २०७६ मा आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा सामाजिक वहिष्करणमा परेका आचार्यलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन र दिक्तेल रुपाकोट मझुवागढीलाई शुक्रबार इमेलमार्फत पत्राचार गरेको हो ।


दलितले छोएको खाएको निहँुमा आफन्तबाटै अघोषित रूपमा वहिष्कार गरिएको घटनाका विषयमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए । 


दलित किशोरीको हातबाट दही खाएको निहुँमा आचार्य परिवार वहिष्करणमा परेको विषयमा आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै पीडितले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो । 


जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक वहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।


‘जातीय भेदभावजस्तो अमानवीय र आपराधिक कार्यविरुद्धको अभियानमा संलग्न ज्येष्ठ नागरिक तथा अभियन्तालाई समाजले गौरवको रूपमा लिनुपर्नेमा सामाजिक वहिष्कार गर्नु निन्दनीय हो,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले पनि यस्तो कार्यलाई दण्डनीय मानेको आयोग स्मरण गराउँछ । घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न तथा आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको छ ।’ 


आयोगले सामाजिक कुरीति तथा विभेदविरुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिकमाथि कानुनद्वारा दण्डनीय हुन सक्ने कुनै पनि कार्य नगर्न/नगराउन स्थानीय एवं राजनीतिक दललाई समेत आग्रह गरेको छ । 

 

यस्तो छ अघोषित वहिष्करण 


दलितले छोएको दही खाएको आरोपमा अघोषित सामाजिक वहिष्करणको सामना गरिरहेका आचार्यमाथि विभिन्न धार्मिक तथा सांस्कृतिक संस्कारका क्रममा विभेद गर्ने गरिएको छ । 

 

आचार्यले श्राद्ध, कुशेऔँसीलगायतको समय आफूमाथि विभेद भइरहेको गुनासो गरेका छन् । घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध टारेका थिए ।

 

घरमा कुशेऔँसीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ । आचार्यलाई गाउँघरमा हुने कतिपय धार्मिक तथा सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष रूपमा बोलाउन छाडिएको छ ।


टंकप्रसादको घरमा गएर धार्मिक तथा सांस्कृतिक कार्य गरे आफूमाथि पनि वहिष्कार हुने त्रासमा पुरोहित उनको घरमा जान हिच्किचाएको अनुमान गरिएको छ ।


सहभोजमा सहभागी भएपछि गाउँकै कतिपय दाजुभाइले अप्रत्यक्ष रूपमा वहिष्कार गर्दै लगेपछि आचार्य अप्ठेरोमा परेका हुन् । दलितको हातबाट दही पिएको भनेर कुरा काट्ने र नबोलाउने गरेको सुनिएको स्थानीय युवा नेता गोपालचन्द्र आचार्यले बताए । 


समाजमै अघोषित वहिष्कारको सिकार बनाइएको भन्दै आचार्य न्यायको याचनासहित ३ भदौ २०७६ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए । 


सामाजिक वहिष्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मुख्यमन्त्री राईले तत्काल खोटाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि उनी झमेलामुक्त हुन सकेका छैनन् । 


दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धविश्वासका बीच जन्मिहुर्किएका आचार्यले पृथ्वीमा मानवको महिला र पुरुषभन्दा अन्य जात नभएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्लेमा आयोजित सहभोजमा सहभागी भएका थिए ।


उनले स्थानीय किशोरी रचना सुनारको हातबाट दही पिए । दलितले दलितकै घरमा तयार पारेको दाल, भात, खसीको मासु, तरकारी, अचारलगायतका परिकार खाए । ‘यो दही घाँटीमा अड्केको भए मैले खान हुन्नथ्यो’, दही पिउँदै आचार्यले भनेका थिए, ‘मेटासिटले मरिन्छ, दलितले छोएको खानेकुराले मरिन्न । हामी सबै मानव एउटै हौँ ।’ 


तर, त्यही सहभागिता उनका लागि झमेलाको कारण बन्न पुगेको छ । पुरातन सोच भएका समाजमा जन्मिए पनि सहभोजमा सहभागी भएकामा तारिफ मात्र भएन, आलोचना र सामाजिक दमनको सामना पनि गर्नु परिरहेको आचार्यले बताए । 


सम्मान मिल्यो, न्याय मिलेन 


सामाजिक रूपमा समस्यामा परेको आचार्यको मनोबल बढाउन जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छुट्टाछुट्टै सम्मान गरेका थिए ।


छुवाछूतमुक्त समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै तेस्रो जिल्लासभाको अवसर पारेर जिल्ला समन्वय समितिले २० असार २०७६ र नगरसभाको अवसर पारेर नगरपालिकाले १० असार २०७६ मा सम्मान गरेको थियो । 


सहभोजमा सहभागी भएकै कारण आचार्यमाथि सामाजिक विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र खोटाङ दलित विकास मञ्चले २ असार २०७६ मा ४ जनाविरुद्ध उजुरी दिएको थियो । उजुरीको केही समयपछि जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्षबीच सहमति गरिएको थियो ।