close

१८ महिना बित्याे ९० मजदुरको हात रित्तै 

१८ महिना बित्याे ९० मजदुरको हात रित्तै 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको विद्युत् आयोजनामा काम गरेका मजदुरले लामो समय बितिसक्दा पनि ज्याला पाएका छैनन् । सिस्नेको वडा नम्बर ८ धपेस्थित जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेका ९० जना मजदुरले १८ महिना बित्दासम्म ज्याला नपाएका हुन् ।


पहिरोले विद्युत्गृहमा क्षति पु¥याएको २ वर्षपछि विद्युत् आयोजना पुनर्निर्माण गरी सञ्चालनमा आइसक्दा पनि सुरुमा काम गरेको ज्याला अहिलेसम्म नपाएको मजदुरको गुनासो छ ।

 

उपभोक्ता समिति, वडा कार्यालय र गाउँपालिकालाई काम गरेको ज्याला नपाएको जानकारी पटक-पटक गराए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको आयोजनामा मजदुरी गरेका स्थानीय नरिभान सार्कीले बताए ।

 

गाउँको रोजगारीले घरायसी खर्च जोहो गराँैला भनेर १९ दिन काम गरे पनि ज्याला नपाउँदा समस्या भएको अर्का मजदुर नवीन सार्की सुनाउँछन् । उपभोक्ता समितिको बेवास्ताले काम गरेको ज्याला नपाएको उनको दाबी छ ।


जामाखोला लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले आयोजना घाटामा गएको हुँदा काम गरेका मजदुरलाई ज्याला दिन नसकिएको बताए । प्राविधिकले काम गरेको स्टिमेट फेरबदल गरिदिएपछि आयोजना घाटामा गएको र मजदुरलाई ज्याला दिन नसकिएको बुढाको भनाइ छ ।

 

मजदुरलाई ज्याला उपलब्ध गराउन उपभोक्ता समितिले पहल गरिरहेको उनको दाबी छ ।

 

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले मजदुरले काम गरेको ज्याला जसरी भए पनि उपभोक्ता समितिले दिनुपर्ने बताइन् । ‘उपभोक्ता समितिले प्राविधिकले स्टिमेट फेरबदल गरिदियो भनेर उपभोक्ता समिति पन्छिन पाउँदैन’, अध्यक्ष बरालले भनिन् ।

 

९० किलोवाट क्षमताको जामाखोला लघु जलविद्युत् आयोजनाले ९० जना मजदुरलाई साढे ८ लाख रुपैयाँ हाराहारी ज्याला दिन बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।