close

कखरा सिक्न थाले जुम्लाका जनजाति महिला

कखरा सिक्न थाले जुम्लाका जनजाति महिला

Trulli
ADVERTISEMENT

जुम्ला- उत्पीडनको चपेटामा परेका जुम्लाका जनजाति महिलाले कखरा पढ्न थालेका छन् । जनजाति महिलाका लागि ३ महिने साक्षरता कक्षामा कखरा पढाउन थालिएको हो ।

 

जनजाति महिलाका प्रतिनिधि छिरिङ लामु लामा तामाङ समुदायका महिलाले बल्ल अक्षरसँग साइनो जोडेको बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमले नाम लेख्न र जोड-घटाउ गर्न सक्ने बनाउनेछ ।’

 

चन्दननाथ नगरपालिकाभित्र रहेका जनजाति महिलालाई लक्षित गरी साक्षरता अभिवृद्धि कार्यक्रम सुरु गरिएको हो । सामान्य लेखपढ गर्न नजान्ने महिलालाई लक्षित गरी ३ महिने साक्षरता अभिवृद्धि कार्यक्रम सुरु गरिएको नगरपालिका उपप्रमुख अप्सरा देवी न्यौपाने (महत) ले बताइन् ।

 

‘नगरपालिकाको सहयोगमा झन्डै ८० बढी जनजाति महिला यो कार्यक्रमबाट साक्षर हुने लक्ष्य राखिएको छ’, उपप्रमुख न्यौपानेले भनिन्, ‘आफ्नो नामसमेत लेख्न नजान्ने र मोबाइलमा आएको फोन नम्बर पनि नचिन्ने महिलालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका हौँ ।’

 

जनजाति महिलामा रहेको निरक्षर दर कम गर्न साक्षरता कार्यक्रम सञ्चालन गरिएको र शिक्षा पाएपछि रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर बनाउन लागिएको उनले बताइन् ।

 

जुम्लाका अधिकांश जनजाति महिलाले आफ्नो नाम पनि लेख्न जानेका छैनन् । ३ महिने अवधिमा उनीहरूलाई नाम लेख्न सिकाउने, अक्षर चिनाउने र सामान्य लेखपढ गर्न सिकाइने नगरपालिकाको शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईंले जानकारी दिए ।

 

उनले भने, ‘अरूअघि खुलस्त भएर आफ्नो परिचय दिन डराउने महिलाले यो कक्षा लिएपछि अक्षर चिन्न र लेख्न सक्ने क्षमताको विकास हुनेछ । साक्षरता कक्षाले जनजाति महिलाको आत्मबल पनि बढाएको छ । साक्षरताले महिलालाई घर र समाजमा सम्मानित महसुस गराएको छ । साक्षरता अभियान जुम्लाका जनजाति महिलाका लागि अवसर हो ।’